Logo

म कुनै गुटमा छैन्, उपेन्द्र यादवतिरै छु: वन राज्यमन्त्री कार्की



काठमाडौं । वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले आफू जसपामा नगएको प्रष्ट पारेका छन् ।

आइतबार जसपा नेपाल फुटाएर अशोक राईको नेतृत्वमा जसपा गठन हुँदा आफ्नो नाम समावेश गरेको भन्दै कार्कीले आपत्ति जनाएका छन् । कार्कीको सचिवालयले आज एक विज्ञप्ति जारी गर्दै आफू उपेन्द्र यादवसँगै रहेको र कुनै पनि गुटमा नलागेको प्रष्ट पारेका छन् ।

‘सञ्चार माध्यममा आइरहेका समाचारहरुबाट अत्यन्त भ्रामक जानकारी सम्प्रेशन भइरहेकोप्रति यस सचिवालयको ध्यानाकर्षण भएको छ’, प्रमुख स्वकीय सचिव रामनारायण कापडीले भनेका छन्, ‘उहाँ जनता समाजवादी पार्टी नेपाल संस्थापन पक्षमा यथावत रहिरनुभएको र अन्यत्र भनेझैं कुनै गुट वा दलसँग आबद्ध नरहेको जानकारीका लागि अनुरोध छ ।’

प्रतिनिधिसभामा १२ सिट रहेको जसपामा अशोक राई समूहमा प्रदीप यादव, सुशीला श्रेष्ठ, रञ्जु ठाकुर, हसिना खातुन, वीरेन्द्र महतो र नवकिशोशार शाह सुडी छन् । उपेन्द्रको पक्षमा राजकिशोर यादव, प्रकाश अधिकारी, रञ्जुकुमारी झा र रेखा यादव रहेका छन् । अर्थात् उपेन्द्र समूहमा ५ जना मात्र हुँदा राई पक्षमा ७ सांसद लागेका छन् ।

जसपा नेपालका अशोक राईले पार्टी फुटाएपछि कार्कीको पनि नाम समावेश गरेको विषयलाई उनको निजी सचिवालयले खन्डन गरेको हो। कार्कीको नाम नेता राई नेतृत्त्वको पार्टीमा सचिवको जिम्मेवारी दिइएको पत्र सार्वजनिक भएको थियो।



प्रतिक्रिया दिनुहोस्