काठमाडौं, २४ वैशाख । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रवक्ता मनिष सुमनले पार्टी विभाजन गरेर गएका नेताहरुले आफ्नै राजनीतिक आत्महत्या गरेको टिप्पणी गरेका छन् । आज (सोमबार) नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अधिकांश अवसर पाएका नेताहरुले नै राजनीतिक आत्महत्या गरेको टिप्पणी गरेका हुन् । ‘हाम्रा धेरै सिनियर नेताहरु हुनुहुन्छ । नेताहरुले आफ्नो राजनीतिको आत्महत्या आफैं गरेका छन् । किन गरे ? के तुषका खातिर गरे ? भन्न सकिन्न । बैठकमा सहभागी हुन्थे, सबै छलफलमा सहभागी हुन्थे । अवसर नपाएका भन्ने हो भने अधिकांशले अत्याधिक अवसर पाएका छन् । योग्य र कर्मठ साथीहरुले आफ्नो राजनीतिक आत्महत्या आफैं गरे,’– उनले भने ।
मन्त्री बनाइएका, कार्यालय प्रमुख पदमा रहेका र अध्यक्ष भन्दा पनि ठूलो पद संघीय परिषद्को अध्यक्षले समेत पार्टी छाडेको बताउँदै उनले नयाँ दल दर्ता गराएका नेताहरु केही दिनसम्म समाचारमा आएपनि विस्तारै निमिट्यान्न हुने दाबी गरे । उनले जसपा छाड्र नयाँ दल दर्ता गराएका नेताहरुको राजनीतिक भविष्य नरहेको उनको दाबी छ । ‘दुई चार दिन छापाको समाचार बन्ला यो पार्टी । तर, फुटेर गएकाहरु विस्तारै निमिट्यान्न हुनेछन् । उनीहरुले भोलिको राजनीतिमा कहीँ कतै अवसर पाउने छैनन्,’– उनले भने ।