Logo

पार्टी विभाजन गराएर सत्ता समीकरण बलियो हुन्छ भन्ने नसोच्न ओली–प्रचण्डलाई एकीकृत समाजवादीको चेतावनी



काठमाडौं, २५ वैशाख । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दल विभाजन गरिदिएर सत्ता समीकरण बलियो हुन्छ भन्ने नसोच्न चेतावनी दिएका छन् । आज (मंगलबार) नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले दल फुटाएर सत्ता समीकरण बलियो हुन्छ भन्ने कुरा अस्थायी सोच रहेको बताए ।

उनले भने,‘पार्टीहरु फु्टाएर सत्ता गठबन्धन बलियो बन्छ भन्ने कुरा भ्रममात्रै हो । अहिले जनता समाजवादी पार्टी फुटेर सरकार लामो समय जान्छ, यसलाई बल पुग्छ भन्ने कसैले सोचेको छ भने त्यो एकदमै अस्थायी कुरा हो । एक दुई महिनाको कुरा हो । त्यसपछि नयाँ ढंगको, नयाँ बार्गेनिङको शृङ्खला सुरु भइहाल्छ । त्यसकारण दलहरु धेरै बनाएर एउटा पक्षलाई आफ्नो पक्षमा ल्याएर र अर्कोलाई शत्रु बनाएर राजनीतिक स्थायित्व हुँदैन ।’

साथै, कसैले चाहँदैमा एकीकृत समाजवादी विभाजन नहुने उनले बताए । उनले अहिले समाजवादी कसैको पनि असन्तुष्टि नरहेको र एकतावद्ध ढंगले काम भइरहेको बताए । ‘हाम्रो पार्टीमा फुट, विभाजनको कुनै सम्भावना देखिँदैन । अहिलेसम्मका घटनाक्रम हेर्दा केन्द्रीय समिति, संसदीय दलमा हेर्दा विचार, काम, एक प्रकारको बडी ल्याङ्वेइज हुन्छ नि कसैको पनि त्यस्तो देखेको छैन,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्