काठमाडौं, २५ वैशाख । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफूमाथि लागेको सहकारी ठगी प्रकरण पुष्टि गर्ने कुनै आधार नरहेको बताएका छन् । आज (मंगलबार) संसद् सुचारु गर्ने विषयमा सभामुख देवराज घिमिरेले आह्वान गरेको बैठकमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले सामाजिक सञ्जाल र मिडियामा कुरा चलेको बाहेक आफ्नोविरुद्धमा कुनै उजुरी र मुद्दा नरहेको बताए ।
साथै, बयानका क्रममा कसैले नाम पनि नलिएको उनको दाबी छ । उनले आफूले कुनै मुद्दा पो परेको छ कि भनेर महान्यायाधीवक्ताको कार्यालयलाई सोध्दा कुनै ठाउँमा मुद्दा विचाराधीन नरहेको जवाफ पाएको उनले बताए ।
‘विषय कहाँ उठेको ? कुन ढंगले उठेको ? कसले उठाएको ? यो कुरा महत्वपूर्ण हुन आउँछ । कसैले उजुरी दिनेबित्तिकै संसदीय समिति बनाउने र राजीनामा दिने हो भने सबै तयार हुन हामीले भनेकै हो । तर, ममाथि आरोप लाग्यो । पत्रपत्रिकामा सुन्छु ।’ उनले भने, ‘सदनमा सांसदहरुले उठाएको सुन्छु । मान्छेहरुले काहीँकाहीँ ज्ञापन पत्र दिएको पनि भन्ने सुन्छु । भएको के रहेछ भनेर आधिकारिक रुपमा कहाँ मुद्दा चलेको छ ? कहाँ अभियोग लागेको छ ? म कहाँ प्रतिवादी छु ? कसैले बयानमा मेरो नाम पो लिएको छ कि ? काहीँ मेरो नाममा मुद्दा पो चलेको छ कि ? भनेर मैले काहीँ त सोध्नुपर्यो । निवेदन दिएरै मैले महान्यायाधीवक्ता कार्यालयलाई सोधेँ । काहीँ मुद्दा चलेको काहीँ अभियोजन भएको काहीँ पनि पाइएन भनेर महान्यायाधीवक्ताको कार्यालयले भनेपछि मैले सदनमा बोल्न पाउने कुरा आउँछ ।’ Photo By: Mukunda Kalikote/RN