काठमाडौं, वैशाख २६ । गत वैशाख १५ गते सम्पन्न उपनिर्वाचनमा इलाम २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सुहाङ नेम्वाङले शपथ ग्रहण गरेका छन् ।
सभामुख देवराज घिमिरेले नेम्वाङलाई शपथ खुवाएका हुन् । उनले सुहाङलाई प्रतिनिधि सभा सदस्यको लोगो लगाएर सांसदको रूपमा जिम्मेवारी दिएका छन्।
सो अवसरमा सचिवालयका कर्मचारीहरुले सांसद नेम्वाङलाई नेपालको संविधान, ऐन/नियमका सामग्री प्रदान गरेका थिए। कार्यक्रममा उपसभामुख इन्दिरा राना, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, रक्षामन्त्री हरिप्रसाद उप्रेती, विभिन्न राजनीतिक दलका प्रमुख सचेतक, संसद् सचिवालयका महासचिव पदमप्रसाद पाण्डेयलगायत उपस्थित थिए।
नेम्वाङ २७ हजार ७ सय ७२ मतसहित इलाम २ बाट विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत पाएका थिए ।
अघिल्लो निर्वाचनमा इलाम २ बाट सुहाङका बुवा सुवास नेम्वाङ विजयी भएका थिए । तर उनको गत वर्ष भदौमा निधन भएपछि रिक्त स्थानमा उपनिर्वाचन भएको थियो ।
तस्बिर: मुकुन्द कालिकोटे/ रिपोर्टर्स नेपाल