काठमाडौं, २९ वैशाख । नेकपा (एमाले) का प्रभावशाली नेता एवं प्रतिनिधि सभा सदस्य ठाकुर गैरेले नेपाली कांग्रेसले संसद्मा लोकतान्त्रिक प्रणालीको धज्जी उडाएको टिप्पणी गरेका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै नेता गैरेले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई सदनमा आफ्ना कुरा राख्न नदिएर कांग्रेसले लोकतन्त्रको उपहास गरेको बताएका हुन् ।
कांग्रेस महामन्त्री गगन थापालाई संसद्मा बोल्न जति अधिकार छ, त्यतिनै अरु सांसदहरुलाई पनि अधिकार रहेको बताउँदै उनले भने, ‘माननीय सांसद गगन थापाले यो सदनमा बोल्ने हाम्रो हक हो । यो कसैको निगाहको कुरा होईन भन्नुभयो । जनताबाट निर्वाचित भएर आएका गगन थापाले जसरी संसद्मा बोल्न पाउने हक हो, त्यसैगरी सांसद निर्वाचित भएर आएका सबैको हक होला नि त्यहाँ ? म किन बोल्न नपाउने ? आज संसद्मा कांग्रेसले लोकतन्त्रको उपहास गर्यो । लोकतान्त्रिक प्रणालीको धज्जी उडायो । लोकतान्त्रिक मर्यादाको उल्लङ्घन गर्यो ।’
सहकारी समस्या समाधान जतिसक्दो चाँडो हुनुपर्छ भन्ने पक्षमा सरकार र एमाले रहेको दाबी गर्दै उनले कांग्रेस बाधक बनेको बताए । साथै, समग्र सहकारीको समस्या सम्बोधन हुनेगरी छानविन समिति बन्ने उनले विश्वास व्यक्त गरे । सहकारीका सञ्चालकहरुको सम्पत्ति जफत गरेर भएपनि बचतकर्ताहरुको निक्षेप फिर्ता गराएर छाड्ने उनले बताए । ‘सहकारी पीडितहरु समस्यामा छन् । जतिवटा सहकारीलाई सरकारले शंकटग्रस्त घोषणा गरिसकेको छ, त्यो शंकटग्रस्त घोषणा भएका सहकारीका सञ्चालकहरुको सम्पत्ति जफत गरेर बचतकर्ताहरुलाई उनीहरुको निक्षेप फिर्ता दिनुपर्छ भन्ने कुरा प्रष्ट छ,’– उनले भने ।
एउटा सांसदले आफूमाथि लागेका आरोपबारे संसद्मा बोल्न नपाउने कुरालाई डेमोक्रेसी मान्न नसकिने उनको भनाइ छ । उनले सहकारी ठगी प्रकरणमा पीडितहरुलाई न्याय र पीडकहरुलाई दण्ड दिनका लागि सत्तापक्ष र प्रतिपक्षबीच एउटै आवाज हुनुपर्ने बताए ।