Logo

राष्ट्रपतिका सल्लाहकारविरुद्ध ओलीको आक्रोशः नेपालको नोटमा नेपालको नक्सा छाप्दा किन टाउको दुखेको ?



काठमाडौं, २९ वैशाख । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले नेपालको नोटमा नेपालको नक्सा छाप्दा कसैको टाउको दुख्नुपर्ने कारण नरहेको बताएका छन् । आज (शनिबार) नेपाल बुद्धिजीवी परिषद्को राष्ट्रिय परिषद् भेलालाई सम्बोधन गर्दै उनले सरकारले उक्त निर्णय गर्दा अरुको टाउको दुख्नु स्वभाविक रहेपनि नेपालकै जागिर खाइरहेकाहरुलाई टाउको दुखेको भन्दै आपत्ति जनाए ।

उनले राष्ट्रपति रामचन्द्र पौडेलका अर्थ विज्ञ डा. चिरञ्जिवी नेपालतर्फ लक्षित गर्दैै ‘यस्ता मान्छे राष्ट्रपतिजस्तो संस्थामा गुँड बनाएर बस्ने ?’ भन्दै आक्रोश व्यक्त गरे । ‘अर्काको देशको नक्सा अर्काको नोटमा त हाल भनेका छैनौं हामीले । हाम्रो नक्सा, हाम्रो नोट हामी छाप्छौं । खर्च पनि हाम्रै, टाउको किन दुख्यो अरुलाई ? अरुलाई टाउको दुख्नु त एउटा कुरा थियो, नेपाली हुँ भनेर नेपालको जागिर खाइराखेकालाई, अझ देशको सर्वोच्च संस्था राष्ट्रपतिजस्तो ठाउँमा गुँड बनाएर । राष्ट्रपतिजस्तो संस्थालाई यस्तै तत्वहरुको गु्ँड बनाउने हो ?’उनले प्रश्न गरे ।

एक सयको नोटमा नेपालको नयाँ नक्सा राख्ने सरकारको निर्णयविरुद्ध राष्ट्रपतिका अर्थ विज्ञ डा. नेपालले भारतलाई चिढ्याउन खोजिएको भन्दै अभिव्यक्ति दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्