काठमाडौं, २९ वैशाख । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री दिँदा पनि सम्झौता नगरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि कांग्रेसले सहकारी ठगको आरोप लगाएको बताएका छन् ।
आज (शनिबार) पार्टीको काठमाडौँ महानगरपालिका कमिटीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले रास्वपा सभापति लामिछानेले डेढ वर्षका लागि प्रधानमन्त्री बनिदिने कांग्रेसको प्रस्ताव अस्विकार गर्दा सहकारी ठगको आरोप लगाएको र संसद्बाट जवाफ दिनसमेत नदिएको बताएका हुन् ।
‘कांग्रेस एउटै मान्छेलाई राति प्रधानमन्त्री बनिदिनुस् डेढ वर्षका लागि भन्न जान्छ । कागज लिएर सम्झौता गरौँ भन्न जान्छ राति । सम्झौता नगरेपछि भोलिपल्ट यो त सहकारीको भ्रष्टाचारी हो भन्दै उफ्रिन्छ ।’ उनले भने, ‘रातिसम्म त्यो मान्छे कांग्रेसको पछि लाग्ने हो भने प्रधानमन्त्री बन्न लायक भयो । कांग्रेसको पछि लागेर प्रधानमन्त्री हुन्न भन्यो भने त्यो मान्छे भ्रष्टाचारी भयो । के भएको हो कांग्रेस ?’
साथै, कांग्रेसले लोकतन्त्रको मूल्य मान्यता बिर्सिएको उनको टिप्पणी छ ।