काठमाडौँ २९ वैशाख । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान जारी भएको लामो समय बितिसक्दा पनि जनताले परिवर्तनको महसुस गर्न नसकेको बताएका छन् ।
नेपाली कांग्रेस झापा–काठमाडौँ सम्पर्क समितिको तेस्रो अधिवेशनको उद्घाटन गर्दै उनले नयाँ संविधान जारी भएपछि मुलुकको परिवर्तनसँगै जनताले परिवर्तनको महसुस गर्न नसकेको बताएका हुन् । उनले भने, ‘संविधान जारी भएपछि जनतामा जुन परिवर्तन हुनुपर्ने हो त्यो हुन सकेको छैन ।’
नेता सिटौलाले संविधानमा देखिएका कमी–कमजोरीलाई सच्याउँदै अघि बढ्नुपर्ने बताए । ‘पछिल्लो समय प्रचण्ड नेतृत्वको तीनवटा फरक–फरक सरकार बनेका कारण त्यसको असर प्रदेशमा देखिएको छ,’– उनले भने । सिटौलाले जनताको हितमा एजेण्डा तयार गर्दै उक्त एजेण्डामाथि समग्र पार्टी पङ्क्ति एक भएर जनतामाझ जानुपर्ने बेला आएको बताए ।