Logo

व्यक्ति केन्द्रीत समितिको माग गरेर कांग्रेसले अर्घेल्याइँ गर्योः मन्त्री भण्डारी



काठमाडौं, ३० वैशाख । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले संसद्मा व्यक्ति केन्द्रीत समितिको माग गरेर अर्घेल्याइँ गरिरहेको टिप्पणी गरेका छन् । आज (आइतबार) नेपाली रेडियो नेटवर्कको नेपाली वहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कांग्रेसको माग बमोजिम नै सहकारी ठगी प्रकरणमा व्यक्ति केन्द्रीत समिति बनाउने हो भने गलत नजिर बस्ने बताए । मन्त्री भण्डारीले कांग्रेसले प्रमुख प्रतिपक्षको भूमिका निर्वाह नगरेर सत्ता आशक्ति राखेर संसद् अवरोध गरिरहेको आरोप लगाए ।

सहकारीलाई तीन खम्बे अर्थनीतिको रुपमा लिइएको जानकारी गराउँदै उनले अनुत्पादक क्षेत्रहरुमा लगानी गर्दा समस्या आएको बताए । मन्त्री भण्डारीले भने, ‘सरकारले तीन खम्बे अर्थनीति अख्तियार गरेको छ । सरकार, नीजी क्षेत्र र सहकारी क्षेत्र भनेका छौं । वास्तवमा सहकारी क्षेत्र अत्यन्त आशालाग्दो क्षेत्र पनि हो । त्यहाँको पुँजी, उत्पादन, व्यवसाय र रोजगारीमा परिचालित हुनुपर्ने हो । अनुपत्पादक क्षेत्र जग्गा, घर, घडेरी र मोटरमा त्यो पुँजी लगानी भयो । त्यसले निराशा ल्यायो । आज बचतकर्ताहरु ठगिएको अवस्था छ ।’

सहकारी पीडितहरुलाई न्याय दिने कुरामा सरकारले आवश्यक प्रक्रिया थालनी गरेको उनले बताए । मन्त्री भण्डारीले थुप्रै सहकारी सञ्चालकहरु कालोसूचीमा रहेका बताए । उनीहरुका कारोबारलाई सरकारले नियन्त्रणमा लिने काम पनि भइरहेको मन्त्री भण्डारीको भनाइ छ । पीडितहरुलाई न्याय, उनीहरुको बचत फिर्ता र सहकारी ठगहरुलाई कानुनको दायरामा ल्याउने कुरामा सरकार प्रतिवद्ध रहेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्