Logo

शेखरसँग गम्भीर छलफलका लागि सम्पर्क कार्यालय पुगे गगन



काठमाडौं,३० वैशाख । नेपाली कांग्रेसको संस्थापन इतर समूहका नेता डा शेखर कोइराला र महामन्त्री गगन थापाबीच भेटवार्ता भएको छ । यी दुई नेताबीच आइतबार बिहान टंगालस्थित शेखरको ​सम्पर्क कार्यालयमा भेटघाट र कुराकानी भएको कोइरालाको सचिवालयले जनाएको छ ।

कोइरालाका स्वकिय सचिव दीनेशचन्द्र थपलियाले दुई नेताबीच भएको भेटवार्ताको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । तस्बिर सार्वजनिक गर्दै थपलियाले लेखेका छन् ‘आजको भेट। राष्ट्रिय र पार्टीको आन्तरिक राजनीतिका बिषयमा गम्भीर छलफल’।

थापा र कोइराला कांग्रेसको १४औं महाधिवेशनमा एउटै प्यानलबाट चुनाव लगेका थिए । सभापतिमा प्रतिस्पर्धा गरेका शेखर पराजित हुँदा भारी मतसहित थापा महामन्त्रीमा निर्वाचित भएका थिए ।

पछिल्लो समय कांग्रेसमा संसदीय दलको नेता फेर्न कसरत भईरहेको गाईगुईँ चल्ने गरेको छ । उच्च स्रोतका अनुसार संस्थापन इतर समूहले दलको नेताबाट शेरबहादुर देउवालाई हटाएर कोइरालालाई दलको नेता बनाउने र एमालेसँग सत्ता सहकार्य गर्नेसम्मको तयारी गरेका छन् । तर यी सबैकुराको स्वतन्त्र पुष्टि हुन भने बाँकी छ ।

यता नेता कोइरालाको नेकपा एमालेसँग निक्कै राम्रो सम्बन्ध रहेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग शेखरको सम्बन् विगतदेखिनै निक्कै हार्दिकतापूर्ण छ । स्रोतका अनुसार दलको नेता फेरेर आएमा सहकार्य गर्न सकिने बचन कोइरालालाई ओलीले दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्