काठमाडौं, ३१ वैशाख । नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री शेरबहादुर तामाङले सहकारी समस्या समाधानका लागि छानविन गर्न आफूहरु प्रतिवद्ध रहेको बताएका छन् । आज (सोमबार) नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सहकारी समस्या राज्यका अंगहरुले छानविन गर्ने बताए । उनले अहिले व्यक्ति केन्द्रीत कुनै पनि समिति नबन्ने उनको भनाइ छ ।
‘सहकारी प्रकरणमा हामीले अहिले सरकारका छानविन अंगहरु, कानुनद्वारा निर्मित अंगहरुमै भर परेका छौं । उहाँहरुमार्फत छानविन हुन्छ । सहकरीको छानविन एउटा व्यक्तिलक्षित, पदलक्षित हुनुहुँदैन ।’ उनले भने, ‘सिंगै सहकारीको जतिपनि समस्या छन्, ती सबै समस्याहरुको छानविन हुन्छ । सबै समस्या उपर छानविन गरेर निस्किएको निश्कर्षको आधारमा हामी अगाडि बढ्छौं ।’
आफूहरुले सहकारी समस्या छानविन हुन हुँदैन भनेर कहिले पनि नभनेको उनको दाबी छ । कांग्रेसले सहकारीको समस्या समाधान भन्दा पनि व्यक्ति केन्द्रीत गरेर छानविन समितिको माग गरेको उनको भनाइ छ । ‘सहकारी समस्यामा छानविन गर्न हुँदैन, पर्दैन हामीले भनेका छैनौं । छानविन गर्नुपर्छ र सोलुसन निकाल्न पर्छ ।’ उनले भने, ‘प्रतिपक्षीले अहिले जसरी सहकारी समस्या समाधान गर्ने भन्दा पनि उद्देश्य अर्को राख्यो । छानविन हुन्छ । अहिले सरकारका अंगहरुले गर्छन् । तिनीबाट निस्किएको आधारमा हामी अगाडि बढ्छौं ।’
साथै, एमालेले वर्तमान सत्ता समीकरण बिगार्ने, भत्काउनेलगायतका काम नगर्ने उनको भनाइ छ । एमाले आफ्नो योजना बनाएर अगाडि बढ्ने र कसैसँग च्याँखे नथाप्ने उनको भनाइ छ । उनले कांग्रेसलाई सबै सहकारीको समस्या समाधान गर्ने उद्देश्यले आउन आवश्यक रहेको बताए । File Photo/RN