काठमाडौं, ३१ वैशाख । जनता समाजवादी पार्टी,नेपालका अध्यक्षसमेत रहेका स्वाथ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिने भएका छन् । आज (सोमबार) उनी राजीनामा बुझाउन बालुवाटार पुगेका छन् ।
हिजो (आइतबार) बसेको जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो । कार्यकारिणी समितिले निर्णय गरेलगत्तै उनी राजीनामा पत्र बोकेर प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।
जसपा नेपाल विभाजन भएपछि उपेन्द्र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग रुष्ट छन् । ओली–प्रचण्डकै जोडबलमा जसपा नेपाल फुटेको उपेन्द्रको निश्कर्ष छ । पार्टी फुटेको रनाहका रहेका उपेन्द्रलाई मधेश प्रदेशमा अर्को झड्का लागेपछि अन्ततः सरकारबाट बाहिरिने निर्णयमा पुगेका हुन् । जसपा नेपालको नेतृत्वमा रहेको मधेश प्रदेश सरकार अहिले अल्पमतमा परिसकेको छ । केन्द्रीय सत्ता गठबन्धनको निर्णयअनुसार नै हिजो माओवादी र एमालेले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेका छन् ।
साथै, केही दिनदेखि प्रधानमन्त्री प्रचण्डले उपेन्द्रलाई राजीनामा दिन दवाब दिएको बताइएको थियो । राजीनामा नदिए पदच्यूत गर्ने तयारीमा रहेका प्रचण्डलाई उपेन्द्रले आफैं मार्ग प्रशस्त गरिदिएका हुन् ।