काठमाडौं,३१ वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिँदैछन् ।
हिजो बसेको प्रदेशसभा कार्य व्यवस्था परामर्श समितिको बैठकले आज बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मतको प्रस्ताव प्रस्तुत गर्ने र त्यसलाई निर्णयार्थ पेस गर्ने कार्यसूची तय गरेको थियो ।
यसैबीच मुख्यमन्त्री कार्कीलाई नेकपा एसले पनि विश्वासको मत दिने भएको छ । नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल सहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेपछि सुदूरपश्चिम सरकारलाई विश्वासको मत दिलाउने प्रतिबद्धता भएको नेकपा एसका नेताहरूले बताएका छन् । माधवको निर्देशनपछि एकीकृत समाजवादी विश्वासको मत दिन तयार भएको हो । काठमाडौँमा रहेका नेकपा एसका सांसदहरू विराटनगर जाने तयारीमा रहेको नेताहरूले बताएका छन्।
संविधानको धारा १६८ (५) अनुसार नियुक्त मुख्यमन्त्री कार्कीले उपधारा ४ अनुसार विश्वासको मत लिन लागेका हुन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका ५२ सांसदको समर्थनमा कार्की वैशाख २७ मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
प्रदेशसभामा एमालेका उप सभामुख सहित ४०, काँग्रेसका २९, माओवादीका १३, सभामुख सहित राप्रपाका ६, नेकपा (एकीकृत समाजवादी)को ४ र जसपा नेपालको १ सांसद रहेका छन् । कोशी प्रदेशमा बहुमत पुर्याउन ४७ प्रदेश सभा सदस्यको आवश्यकता पर्दछ ।