काठमाडौं,३१ वैशाख । गत फागुन २७ गते उपप्रधान तथा स्वास्थ्यमन्त्रीको शपथ लिएका जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव मन्त्रीको कुर्सीमा पुगेको ६४औं दिनमै पदच्यूत भएका छन् ।
यादवले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष लिखित राजीनामा पेश गरेका छन् । उनीसँगै वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले पनि राजीनामा बुझाएका छन् ।
यादवले प्रधानमन्त्री प्रचण्डलाई बुझाएको राजीनामा पत्रमा भनिएको छ,‘सम्माननीय प्रधानमन्त्रीज्यूको नेतृत्वमा गठन गरिएको सरकारमा विगत करिब दुई महिनादेखि म उपप्रधानमन्त्रीको रूपमा जिम्मेवारी सम्हाल्दै आएकोमा वर्तमान विकसित राजनीतिक परिस्थितिमा सरकारमै रहेर सहकार्यलाई निरन्तरता दिन नसकिने भएको हुँदा उक्त जिम्मेवारीबाट राजीनामा दिन चाहन्छु । आजसम्म तपाईंको नेतृत्वको सरकारमा रहेर सहकार्य गर्ने अवसर प्रदान गर्नुभएकोमा हार्दिक धन्यवाद दिन चाहन्छु ।’
यादव नेतृत्वको पार्टी गत साता विभाजन भएसँगै उनको सत्ता यात्रामा संकट आईपरेको थियो । प्रतिनिधि सभामा १२ सीट रहेकोमा ७ सांसदसहित अशोक राईले जसपा गठन गरेपछि यादवले सरकार छाड्नुपर्ने अवस्था आएको हो । पार्टी विभाजन हुँदा उपेन्द्र अमेरिकामा थिए ।
नेपालमा रहँदा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीसँग मिलेर प्रचण्ड सरकार ढाल्ने खेलमा लागेको भन्दै यादवको पार्टी विभाजन भएको हो । यद्यपी यसबारेमा यादवले भने खण्डन गर्दै आएका छन् । आफू वर्तमान सरकारप्रति प्रतिवद्ध रहँदा रहँदै सत्तारुढ दलले नै पार्टी विभाजन गरिदिएको भन्दै उपेन्द्र असन्तुष्ट छन् ।
केन्द्र सरकारबाट बाहिरिएको जसपा नेपालले मधेश प्रदेशको नेतृत्व पनि गुमाउँदैछ । मधेशमा सहभागी एमाले र माओवादीले आइतबार नै सरकारलाई दिएको समर्थन फिर्ता लिँदै ६ जना मन्त्री र २ राज्यमन्त्रीले राजीनामा बुझाईसकेका छन् । यादव सरकार ढालेर मधेशमा एमाले, माओवादी, जनमत र लोसपा मिलेर सरकार बनाउने सहमति भएको छ ।
उपेन्द्र छोटो समयमै सत्ताबाट च्यूत हुनुको कारण भने एमाले माओवादीले उपेन्द्रको विपक्षीसँगकै साँठगाँठलाई लिएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धन छाडेर आएमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र उपेन्द्रलाई एक वर्ष प्रधानमन्त्री बनाउने आश्वासन दिएका थिए । सोही आश्वासनले सरकार ढाल्न उपेन्द्रले गोप्य चाल चलेको राजनीतिक वृत्तमा चर्चा छ । तर, उपेन्द्रको गोप्य चाललाई एमाले-माओवादीले निस्तेज पारिदिएपछि भने सत्ताबाट उपेन्द्रले ६४ दिनमै हात धुनुपरेको छ । file photo