Logo

एकीकृत समाजवादीले मुख्यमन्त्रीलाई विश्वासको मत दिने, सरकारमा सामेल नहुने



काठमाडौं,३१ वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई नेकपा एकीकृत समाजवादीले विश्वासको मत दिने भएको छ ।

आज बसेको प्रदेश सभाको बैठकमा बोल्दै एसका सांसद तथा पूर्व मन्त्री कमलप्रसाद जवेगूले सरकारमा सामेल नभई मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय भएको जानकारी गराए ।

‘हाम्रोबीचमा थुप्रै विमती छन् । प्रदेशको नामाकरणको विषयमा हाम्रो भयंकर ठूलो असहमति छ । अझ भन्ने हो भने राष्ट्रिय राजनीतिको कारणले मात्र आज हामीले सबै कुरामा ध्यान पूर्याएर गठबन्धनलाई दर्हो बनाउन यो निर्णय गरेका हौं’ उनले भने ‘मुख्यमन्त्रीज्यू यी सबै काम गर्न सफल हुनुहुनेछ भन्ने विश्वासको साथ हामीले उहाँलाई विश्वासको मत दिने निर्णय गरेका छौं । हामी सत्ता गठबन्धनमा छौं तर सरकारमा छैनौं । हामी प्रतिपक्षीमा रहेर विश्वासको मत दिन्छौं । प्रतिपक्षी बेञ्चमा रहेपनि सरकारलाई हाम्रो पूर्ण समर्थन रहन्छ’ ।

यही वैशाख २७ गते कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले सोही दिन साँझ पद तथा गोपनीयताको शपथ लिएका थिए । उनलाई नेकपा एमालेका ३९, नेकपा माओवादी केन्द्रका १३ सहित ५२ प्रदेशसभा सदस्यको साथ र समर्थन रहेको छ ।

आजको बैठकमा नेपालको संविधानको धारा १६८ को उपधारा ४ बमोजिम तथा कोशी प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधन समेत) को नियम १२८ बमोजिम कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने बैठकको कार्य सूची रहेको छ । ९३ सदस्यीय कोशी प्रदेश सभामा बहुमत पाउन ४७ सदस्यको समर्थन चाहिन्छ ।



प्रतिक्रिया दिनुहोस्