काठमाडौं, ३१ वैशाख । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले आफूहरु राजनीतिक स्थायित्वका लागि जहिले पनि सरकारमा बस्न तयार रहेको बताएका छन् । आज (सोमबार) पार्टीको पोलिटब्युरो बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले सम्मानजनक सहकार्य, सहयात्रा र शक्तिअनुसारको हैसियत प्राप्त भए आफूहरु राजनीतिक स्थायित्वका लागि सरकारलाई समर्थन दिइरहन तयार रहेको बताएका हुन् ।
तर, सरकारको नीति तथा कार्यक्रममा आफूहरुको भूमिका प्रभावकारी नदेखिए सरकारमा रहिरहने कुरामा प्रश्नवाचक चिन्ह खडा हुने उनको चेतावनी छ । ‘हामी आफ्नो अडानमा छौं । सरकारमा हामी किन बस्ने ? हाम्रो दृष्टिकोण प्रष्ट छ । सहकार्य, सहकार्य सम्मानजनक भए, त्यसभित्रका विभिन्न अवसरहरुमा शक्ति अनुसारको समान हैसियत प्राप्त गरे राजनीतिक स्थिरता प्रदान गर्न हामी सरकार बस्न जहिले पनि तयार छौं ।’ उनले भने, तर, नीतिविना, कार्यक्रमविना, नीति तथा कार्यक्रममा हाम्रो आफ्नो भूमिकाविना सरकारमा बस्ने कुरा जहिले पनि प्रश्नवाचक नै बन्छ ।’
उपमहासचिव खतिवडाका अनुसार आजको बैठकमा चार वटा राजनीतिक दस्तावेजहरु राजनीतिक प्रतिवेदन, पार्टीको कार्यक्रम, विधान र संगठनात्मक प्रस्तावमा आज ४१ जनाले आफ्नो धारणा राखेका थिए । जेठ १ र २ गते ११ बजेदेखि ललितपुरस्थित कान्तिपुर गार्डेनमा पार्टीको केन्द्रीय कमिटी बैठक बस्ने पनि उनले जानकारी गराए । File Photo