Logo

सभामुखले भने: संवैधानिक संकट आउने अवस्था नआओस्, माग पूरा नभएसम्म विरोध कायमै राख्छौं: थिङ



काठमाडौं,१ जेठ । सदनमा देखिएको गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेले आज प्रमुख दलका प्रमुख सचेतक र सचतेकसँग छलफल गरेका छन् ।

सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमका भएको छलफलमा सभामुख घिमिरेले तत्काल राजनीतिक संवादको माध्यमबाट तत्काल गतिरोध अन्त्यको वातावरण मिलाईदिन आग्रह गरेका थिए । घिमिरेले संविधानले तोकेको समयमा बजेट पेश नभए संवैधानिक संकट आउने भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गरेका छन् । ‘संवैधानिक संकट आउन सक्छ यसमा सबैले ध्यान दिनुपर्छ ’ घिमिरेले भने ।

छलफलमा कांग्रेसकी सचेतक सुशीला थिङले नेपाली कांग्रेस संसदीय दलले नीति तथा कार्यक्रम प्रस्तुत हुन सहयोग गर्ने तर त्यसपछि धन्यवाद प्रस्ताव टेबुल गर्ने प्रयोजनका लागि बोलाइएको बैठकमा विरोध जारी रहने बताएकी थिइन् । ‘छानबिन समिति नबनेसम्म हाम्रो संसदीय विरोध कार्यक्रम रहिरहन्छ’, उनले भनिन् ।

सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मुछिएको भन्दै कांग्रेसले निरन्तर सदन अवरुद्ध गर्दै आएको छ । सरकारले आज आगामी वर्षको नीति तथा कार्यक्रम संसद्मा पेश हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले दिउँसो ४ बजे बस्ने संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेश गर्नेछन् ।

तर, प्रमुख प्रतिपक्षी दल कांग्रेसले भने छानबिन समिति नबनेसम्म आफ्नोतर्फबाट अवरोधको कार्यक्रम जारी राख्न बताएको छ । कांग्रेसले राष्ट्रपतिलाई नीति तथा कार्यक्रममात्र बाचन गर्न दिने र त्यसपछि अवरोध गर्ने निर्णय आज बसेको संसदीय दलको बैठकबाट गराएको छ ।

यता रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले भने आजको बैठकमा गृहमन्त्री लामिछानेलाई बोल्न दिनुपर्ने आफूहरुको पूरानै माग गरेको बताएका छन् । परियारले वैशाख २८ गतेको बैठकमा नै सभामुखले गृहमन्त्रीलाई बोल्न समय दिएको उल्लेख गर्दै आज गृहमन्त्रीले बोल्न पाउनुपर्ने बताएका हुन् ।

उनले भने- गृहमन्त्रीलाई गएको बैठकमा सभामुखले बोल्न समय दिनुभएको थियो । बोल्न पाउनुभएको छैन । आजको बैठकमा त्यसको निरन्तरतास्वरुप बोल्न दिनुपर्छ । गृहमन्त्रीले बोल्न पाउनुपर्छ । धन्यवाद प्रस्ताव टेबल नभएसम्म नीति तथा कार्यक्रमको कोर्स पूरा हुँदैन । कांग्रेसले पुनर्विचार गर्नुपर्छ ।



प्रतिक्रिया दिनुहोस्