काठमाडौं,२ जेठ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुने भएको छ । उच्च अदालत पाटनमा यो मुद्दाको सुनुवाइ भइरहेको छ ।
न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा मंगलबार यो मुद्दाको सुनुवाइ भएको थियो । सुनुवाइ नसकिएपछि यो मुद्दा हेर्दाहेर्दैमा राखिएकोमा आज पुनः सुनुवाइ हुने भएको हो ।
उक्त मुद्दामा सन्दीपको तर्फबाट वरिष्ठ अधिवक्ताहरु रामनारायण बिडारी र रमण श्रेष्ठ, शम्भु थापा, मुरारी सापकोटा र कृष्ण सापकोटालगायतले बहस गरेका थिए । उनीहरुले दोषी ठहर गर्ने काठमाडौं जिल्ला अदालतको फैसलामाथि प्रश्न उठाएका छन् ।
त्यस्तै, पीडित गौशाला–२६ को तर्फबाट सरकारी वकिल र निजी कानुन व्यवसायीहरुले पनि बहस गरेका थिए । २०८० पुस २५ गते जिल्ला अदालत काठमाडौंले नाबालिग जबर्जस्ती करणी मुद्दामा उनलाई दोषी ठहर गर्दै आठ वर्ष कैद र तीन लाख रुपैयाँ जरिवाना तथा २ लाख रुपैयाँ क्षतिपूर्तिको फैसला सुनाएको थियो ।
सन्दीपले पीडितको कमजोर आर्थिक अवस्थाको फाइदा उठाएर बलात्कार गरेको ठहर गर्दै काठमाडौं जिल्ला अदालतले फैसला गरेकोमा फैसला चित्तबुझ्दो नभएको भन्दै लामिछाने पुनरावेदनका लागि उच्च अदालत पुगेका थिए ।