Logo

इतिहासविद् नेपालको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त



काठमाडौँ, २ जेठ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इतिहासविद् ज्ञानमणि नेपालको निधनप्रति दुःख व्यक्त गरेका छन् । इतिहासविद् नेपालको यही जेठ १ गते मङ्गलबारका दिन निधन भएको थियो ।

नेपाली इतिहास अध्ययन र अनुसन्धानका क्षेत्रमा उनले पु¥याएको योगदानको स्मरण गर्दै सभापति देउवाले उनीप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् । साथै उनले शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नोतर्फबाट समवेदना प्रकट गरेका छन् ।

विसं १९८९ माघ १७ गते भोजपुरको सिक्तेलमा जन्मिएका उनी इतिहासलाई प्रमाणिक रुपले लेख्ने पहिलो पुस्ताका एक विद्वान् थिए । ‘संशोधन मण्डल’ का आजीवन स्वयंसेवी सदस्य ज्ञानमणिको संस्कृत वाङ्मय र शिलालेख तथा ऐतिहासिक दस्तावेजका भाषामा गहिरो पकड रहेको थियो ।

उनका ‘नेपालको महाभारत’ र ‘नेपाल निरुक्त’ लगायतका दुई दर्जन जति पुस्तकहरु प्रकाशित छन् । सभापति देउवाले नेपालको राजनीतिक इतिहासको नयाँ अध्यायको अनुसन्धान गरेका ज्ञानमणिको निधनबाट नेपाली इतिहास अध्ययन र अनुसन्धानका क्षेत्रमा अपूरणीय क्षति पुगेको उल्लेख गरेका छन् । 



प्रतिक्रिया दिनुहोस्