काठमाडौं, ३ जेठ । नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले सन्दीप लामिछाने विश्वकप खेल्नबाट बञ्चित हुन नहुने बताएका छन् । आज (बिहीबार) नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आइसीसीबाट सहमति लिएर सन्दीपलाई विश्वकप खेल्न पठाउने बताएका हुन् ।
सन्दीपले नै नेपाली क्रिकेटलाई विश्वकप खेल्ने स्थानमा पुर्याएको उनको भनाइ छ । उनले सन्दीप विश्वकप खेल्न जानका लागि तयार रहेको र आफूहरुले पनि प्रक्रिया सुरु गर्ने बताए ।
‘न्यायलयको आदेशको सम्मान गर्दै हिजो नै हामीले उहाँको निलम्बन फुकुवा गरेका छौं । विश्वकप खेल्नका लागि केही प्राविधिक कुरा हुन्छन् । आइसीसीबाट सहमति लिएपछि हामी प्रक्रिया अगाडि बढाउँछौं ।’ उनले भने, ‘सन्दीपले विश्वकप खेल्नुपर्छ । योग्य खेलाडी जसले नेपाललाई विश्वकपमा पुर्याएको छ । ऊ विश्वकप खेल्नबाट बञ्चित हुन हुँदैन भन्ने सबैको राय थियो । सन्दीप विश्वकपको लागि तयार छन्, प्राविधिक पाटो हामी मिलाउँछौं ।’
बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट दोषी ठहर भएका सन्दीपलाई हिजो उच्च अदालत पाटनले सफाइ दिएको थियो । सफाइ पाएलगत्तै उनको निलम्बन फुकुवा गरेको क्यानले आज एक जना खेलाडी प्रतिस्थापन गर्नका लागि भन्दै आईसीसीसँग अनुमति मागिसकेको छ ।