काठमाडौं,३ जेठ । कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले मन्त्रिपरिषद् विस्तारको तयारी थालेका छन् । बिहीबार साँझ नवनियुक्त मन्त्रीहरूलाई शपथ गराउने गरी मुख्यमन्त्री कार्कीले मन्त्रीमण्डल विस्तार गर्ने तयारी गरेका छन् ।
मुख्यमन्त्रीमा शपथ लिएकै दिन कार्कीले एमाले र माओवादीबाट एक-एक जनालाई बिनाबिभागीय मन्त्री बनाएका थिए । कार्कीले एमालेबाट ३ जना र माओवादीबाट २ जना मन्त्री बनाउने तयारी गरेको मुख्यमन्त्रीनिकट स्रोतले जनाएको छ ।
यसअघि मुख्यमन्त्री कार्कीले एमालेबाट रामबहादुर मगर र माओवादीबाट गणेश उप्रेतीलाई मन्त्री नियुक्त गरेका थिए ।
कुन मन्त्रालय लिने भन्ने सहमति टुङ्गो नलागे पनि एमालेबाट झापाका एकराज कार्की, मोरङका लिलाबल्लभ अधिकारी र खोटाङका पीके राईलाई मन्त्री बनाउने तयारी मुख्यमन्त्री कार्कीले गरेका छन् ।
यस्तै माओवादीबाट नारायण बुर्जा मगर र राजेन्द्र कार्की मन्त्री हुने सम्भावना छ ।
यता मुख्यमन्त्रीलाई विश्वासको मकत दिएको जसपाले भने तत्काल सरकारमा भाग नपाउने देखिएको छ । जसपाकी एकल सांसद निर्मला लिम्बू प्रदेश सभामा छिन् । उनले जसपा नेपाल छाडेर अशोक राई नेतृत्वको जसपा रोजेकी थिईन् ।