Logo

देउवाले बोलाएको बैठकमा राप्रपाले भन्यो: चित्त बुझेन भने प्रतिवाद गरौंला, गृहमन्त्रीले संसद्मा बोल्न पाउनुपर्छ



काठमाडौं,४ जेठ । सहकारी ठगी प्रकरणलाई लिएर सत्तारुढ दलले पेलेरै जाने नीति लिएपछि आक्रामक बनेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपक्षी दलका नेताहरुसँग छलफलका लागि बोलाएको बैठक सकिएको छ ।

बानेश्वरमा बसेको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गृहमन्त्री रवि लामिछानेले संसद्मा बोल्न पाउनुपर्ने आफ्नो पार्टीको प्रष्ट लाइन रहेको जानकारी गराएको छ ।

नयाँ बानेश्वरस्थित संसद् भवनभित्र नेपाली कांग्रेस दलको कार्यालयमा बसेको प्रतिपक्षी दलहरूको बैठकमा संसदीय छानबिन समिति बन्नुपर्ने र गृहमन्त्रीले आफ्ना कुरा राख्नुपर्ने बताएको छ ।

बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भने, ‘राप्रपाको तर्फबाट गृहमन्त्रीलाई बोल्न दिनुपर्छ भन्ने माग राखेका छौँ। गृहमन्त्रीले बोल्न पाउनुपर्छ। छानबिन समिति बन्नुपर्ने कुरामा हामी पछि हट्दैनौँ।’

यदी गृहमन्त्रीको भनाई सुनिसकेपछि चित्त नबुझ्दा त्यसको प्रतिवाद गर्न सकिने तर्क उनले पेस गरे।

‘सुनिसकेपछि चित्त बुझेन भने प्रतिवाद गर्ने अर्को कुरा भयो,,’ उनले भने।

हिजोको बैठकमा कांग्रेस र एमाले सांसदहरूबीच हातहालाहालको स्थिति भएपछि आज कांग्रेस संसदीय दलको बैठकलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवाले राप्रपा, जसपा नेपाललगायतका नेतासँग छलफल गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्