Logo

रवि लामिछानेलाई संसद्मा बोल्न दिने विपक्षी दलको निर्णय



काठमाडौं । सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभाको बैठकमा आज उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बोल्न पाउने भएका छन् ।

बानेश्वरमा बसेको कांग्रेससहितका विपक्षी दलको बैठकले लामिछानेलाई संसद्को आजको बैठकमा बोल्न दिने निर्णय गरेको हो ।

प्रतिनिधि सभा बैठक आइतबार बिहान ११ बजेका लागि बोलाइए पनि बैठक सुरू भएको छैन। बैठकअघि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सदनमा रहेका विपक्षी दलका नेताहरूलाई छलफलका लागि बोलाएका थिए।

छलफलमा सभापति देउवासहित कांग्रेसका पदाधिकारीहरू र प्रमुख सचेतक रमेश लेखक, राप्रपा नेता बुद्धिमान तामाङ र प्रमुख सचेतक ज्ञानेन्द्र शाही, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर र नेता शरदसिंह भण्डारीलगायत सहभागी थिए।

सहकारीको रकम अपचलनमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको र छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग गर्दै कांग्रेसले सदन अवरुद्ध गर्दै आएको थियो भने लामिछानेलाई रोष्टममा जान पनि रोकेको थियो।

गत बिहीबारको संसद बैठक सभामुख देवराज घिमिरले जर्बजस्ति अघि बढाएपछि बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलका सांसदबीच धकेलाधकेल भएपछि प्रतिपक्षी दलहरू एक ठाउँमा उभिएका हुन् । उनीहरूले सभामुख घिमिरेको भूमिकाप्रति असन्तुष्टि जनाएका छन् ।

सहकारीको बचत अपचलन प्रकरणमा गृहमन्त्री लामिछाने संलग्न रहेको भन्दै कांग्रसले संसदीय छानबिन समिति बनाउनुपर्ने भन्दै संसद् अवरुद्ध गर्दै आएको थियो । शनिबार बसेको शीर्ष नेताहरूको बैठकले समिति बनाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार सम्पन्न प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, सत्ता साझेदार नेपाल कम्युनिस्ट पार्टी एमाले, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताको संयुक्त बैठकमा सहकारी प्रकरणमा छानबिन समिति गठन गर्ने समझदारी भएको हो ।

यससँगै कांग्रेसले सहकारी ठगी प्रकरणलाई लिएर अवरुद्ध गरिरहेको सङ्घीय संसद्का दुवै सदन आजदेखि सुचारु हुने भएको छ ।



प्रतिक्रिया दिनुहोस्