काठमाडौं, ६ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलहरुको संयुक्त बैठकमा सिके राउत नेतृत्वको जनमत पार्टी सहभागी भएन ।
जनता समाजवादी पार्टी, नेपालका उपेन्द्र यादवदेखि लोकतान्त्रिक समाजवादी पार्टीका महन्थ ठाकुरसम्म सहभागी हुँदा जनमतबाट कोही पनि बैठकमा सहभागी भएनन् ।
देउवाले बोलाएको बैठकमा राप्रपाबाट ज्ञानबहादुर शाही गएका थिए । तर, जनमतलाई निम्तो दिँदापनि गएन । जनमत पार्टीले सत्ता पक्षसँग सहकार्यको प्रयास थालेको छ । मधेश प्रदेशको सरकारको नेतृत्व लिनेगरि जनमत पार्टी एमाले–माओवादी गठबन्धनमा सरिक हुन खोजेको चर्चा छ ।
यद्धपी मधेश सरकारको नेतृत्वको लागि एमाले, माओवादी र जनमतबीच सहमति भएको छैन् । प्रधानमन्त्री पुष्पकमल दाहालले जनमतलाई सरकारमा सहभागी गराउन खोजिरहेका छन् । विकसित राजनीतिक घट्नाक्रमको विश्लेषण गरेर नै जनमत आज देउवाले बोलाएको विपक्षीहरुको बैठकमा सहभागी नभएको हो । देउवोल यसअघि शुक्रबार पनि बैठक डाकेका थिए । सो बैठकमा पनि जनमत सहभागी भएन ।
मधेश प्रदेश सरकार गठनमा प्रधानमन्त्री दाहालले महन्थ नेतृत्वको लोसपाको पनि साथ खोजेका छन् । त्यसको लागि उनले बिहीबार ठाकुर र नेता शरदसिंह भण्डारीसँग गम्भीर छलफलसमेत गरिसकेका छन् । भोलि प्रधानमन्त्री प्रचण्डले संसद्मा विश्वासको मत लिँदैछन् । स्रोतका अनुसार जनमतले प्रचण्डलाई विश्वासको मत दिएर सत्ता समीकरणमा सहभागी हुने तयारी गरेको छ ।