Logo

कांग्रेसको निश्कर्षः ‘संसद्मा गृहमन्त्री लामिछाने हिंश्रक ढंगले प्रस्तुत हुनुभयो’



काठमाडौं, ७ जेठ । नेपाली कांग्रेस संसदीय दलको बैठकले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने संसद्मा हिंश्रक रुपमा प्रस्तुत भएको निश्कर्ष निकालेको छ । आज (सोमबार) बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले गृहमन्त्री लामिछाने असत्य, असभ्य, भ्रामक, कपोल्कल्पित र हिंश्रक ढंगले प्रस्तुत भएको निश्कर्ष निकालेको हो ।

हिजो (आइतबार) संसद् बैठकलाई सम्बोधन गर्दै उपप्रधान एवं गृहमन्त्री लामिछानेले कांग्रेस र कांग्रेसका नेताहरुमाथि विभिन्न आरोप लगाएका थिए । गृहमन्त्री लामिछानेले कांग्रेस महामन्त्री गगनकुमार थापालक्षित गर्दै सरकारी अनुदान हिनामिना गरेको र नेपालको गोप्य सूचना विदेशीलाई बेचेको आरोप लगाएका थिए । गृहमन्त्री लामिछानेले कांग्रेस नेताले घडी चोरेकोदेखि लिएर रातो पासपोर्ट दुरुपयोग गरेकोसम्म कुरा कोट्याएका थिए

‘हिजो नेपाल सरकारका माननीय उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेजीले प्रतिनिधि सभाका जे कुराहरु बोल्नुभएको छ, यो असत्य, असभ्य, भ्रामक, कपोल्कल्पित र हिंश्रक ढंगले उहाँ प्रस्तुत हुनुभएको छ,’– बैठकको निश्कर्ष सुनाउँदै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने ।

नेता लेखकले सहकारी ठगीमा संलग्न रहेका गृहमन्त्री लामिछाने, ठगी गर्ने, अपचलन गर्ने अन्य मानिसहरु, सम्बन्धित सहकारी र कम्पनीहरुलाई कडा कारबाही गर्नुपर्ने आफूहरुको माग यथावत रहेको पनि बताए । स्वतन्त्र, निश्पक्ष छानविन सुनिश्चित गर्नका लागि संसदीय छानविन समितिको मागमा आफूहरु दुढ रहेको उनले बताए ।

उपप्रधान तथा गृहमन्त्रीजस्तो जिम्मेवार पदमा बसेको मानिसले अर्कालाई प्रश्न सोध्न नहुने उनको भनाइ छ । गृहमन्त्री लामिछानेले आफूमाथि उठेका प्रश्नको जवाफ दिन छाडेर मानिसका बारेमा तथाकथित विषयहरुलाई उठाएरको कांग्रेसको निश्कर्ष छ ।

कांग्रेसले लामिछानेले आफूमाथि लागेको अभियोगबाट भाग्ने प्रयन्त गरेको निश्कर्ष निकालेको छ । ‘उहाँले प्रतिनिधि सभामा आफूमाथि लागेको आरोपबाट भाग्ने प्रयास गर्नुभयो । त्यो भाग्नका लागि कपोल्कल्पित, झुठा, भ्रामक, असत्य कुराहरुलाई अत्यन्त असभ्य र हिंश्रक ढंगले प्रस्तुत गर्नुभएको छ । कांग्रेस संसदीय दलको बैठकले उहाँको अभिव्यक्तिप्रति घोर निन्दा र भ्रत्सना गर्छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्