काठमाडौं,७ जेठ । आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूमाथि लगाएको आरोप तथ्यहीन भएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले संसद सचिवालयमा निवेदन दिएका छन् ।
गुरुङले सोमबार सभामुख देवराज घिमिरेलाई निवेदन लेख्दै लामिछानेमाथि संसद्को अवहेलना मुद्दामा कारबाही गर्न माग गरेका छन् ।
अदालतबाट सफाइ पाइसकेका रातो कूटनीतिक पासपोर्टको विषयलाई तोडमोड गरी प्रस्तुत गरी भ्रम श्रृजना गर्न खोजेको भन्दै आरोप प्रमाणित गर्न चुनौती समेत दिएका छन् । उनले कूटनीतिक राहदानी दुरुपयोग गरेको भन्ने आरोपको सम्बन्धमा सर्वोच्च अदालतले २०६४ असोज २४ गते गरेको फैसलाको प्रतिलिपी यसै निवेदनसँगै पठाएका छन् ।
गृहमन्त्रीले तथ्यहीन कुरा बोल्दा संसदको अवहेलना हुन पुगेको गुरूङको भनाइ छ। ‘उहाँले बोलेका कुरा पुष्टि गर्न म चुनौती दिन चाहन्छु, पुष्टि नभएमा उहाँमाथि कारबाही गर्न माग गर्दछु,’ सांसद गुरूङले भनेका छन्। file photo