Logo

समाचार लेखेकै भरमा गिरफ्तार गरिन्छ भने त्यसको विरुद्धमा उभिन तयार छौः ऋषि धमला



काठमाडौं, ८ जेठ । सहकारी ठगी प्रकरण र संसद् अवरोधको विषय पछिल्लो समय निकै पेचिलो बनिरहेको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने नै सहकारी ठगी प्रकरणमा संलग्न रहेको दाबी गर्दै नेपाली कांग्रेसले संसदीय छानविन समितिको माग राखेर संसद् अवरोध गरिरहेको छ । कांग्रेसको अवरोधका बावजुद सभामुखले सत्तापक्षको इसारामा पेलेर संसद्का काम कारबाहीलाई अगाडि बढाइरहेका छन् । त्यस्तै, कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियामाथि पक्राउ पुर्जी जारी भएको विषयमा उपप्रधान एवं गृहमन्त्री लामिछानेको थप आलोचना भइरहेको छ ।

यिनै विभिन्न विषयमा रिपोर्टर्स क्लब नेपालले साक्षत्कार कार्यक्रम आयोजना गरेर दलका युवा नेताहरुको धारणा लिएको छ । रिपोर्टर्स क्लब नेपालका सभापति एवं प्राइमस् टाइम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलाले समाचार लेखिएकै भरमा कसैलाई धरपकड गर्ने, पक्राउ गर्नेजस्ता विषय सह्य नहुने बताए । गलत गरेको भए कसैलाई बाँकी राख्न नहुने बताउँदै पत्रकार धमलाले समाचार लेखेकै भरमा पूर्वाग्रही भएर कसैलाई पनि पक्राउ पुर्जी जारी गरिए सञ्चार जगतले त्यसको प्रतिवाद गर्ने चेतावनी दिए । राज्य यसरी अगाडि बढेको खण्डमा सञ्चारकर्मीहरु शसक्त ढंगले संघर्षमा उत्रिने उनको चेतावनी छ । ‘कसैलाई समाचार लेखेकै भरमा गिरफ्तार गरिन्छ भने हामी त्यसलाई मान्दैनौं, सह्य हुने छैन । मेरो पक्षमा समाचार लेखिएन भनेर गिरफ्तार गर्छन् भने हामी त्यसको विरुद्धमा उभिन तयार छौं,’– पत्रकार धमलाले भने ।

धमलाले नेपाली पत्रकारिता जगत पञ्चायत कालदेखि आजसम्म सुरक्षित नगरेकोसमेत स्मरण गराए । उनले नेताहरुले आफूमाथि उठेका प्रश्नको जवाफ दिनुपर्ने र आलोचनालाई सहजरुपमा लिनुपर्ने बताए । साथै, सहकारी ठगी प्रकरणमा सरकार गम्भीर हुनुपर्ने र पीडितले बचत फिर्ता पाउनुपर्ने कुरा सुनिश्चित हुनुपर्ने उनले बताए ।



प्रतिक्रिया दिनुहोस्