Logo

कान्तिपुर मुख्यालयबाटै पक्राउ परे कैलाश सिरोहिया



काठमाडौं, ८ जेठ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् । कान्तिपुर मिडिया ग्रुपको केन्द्रीय कार्यालयबाट उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

आफूलाई कार्यक्षबाट नियन्त्रणमा लिएपछि सिरोहियाले यसलाई ‘नवअधिनायकवाद’ को संज्ञा दिए । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । उनीविरुद्ध नागरिकता किर्ते कसुरमा जिल्ला अदालत धनुषाबाट पक्राउ पुर्जी जारी भएको थियो । उनलाई आज नै धनुषा पठाइने बताइएको छ ।

कान्तिपुर मिडियाले सत्तापक्षको स्वार्थ र गृहमन्त्री रवि लामिछानेको कर्तुत बाहिर ल्याएकोमा प्रतिशोध साँधेर उलाई पक्राउ गरिएको बताएको छ । सिरोहियाको पक्राउलाई लिएर पत्रकार युवराज घिमिरेले सिरोहियालाई राज्यले नियोजित तरिकाले निशाना बनाएको प्रतिक्रिया दिए ।

पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले मिडिया हाउसको अध्यक्षलाई कार्यकक्षमा पुगेर पक्राउ गर्नु निन्दनीय रहेको बताए । उनले राज्यले सही चरित्र देखाउन नसकेको बताए । पोखरेलले राज्य संयन्त्रको दुरुपयोग भएको बताए ।

उनलाई पक्राउ गरेर लगिँदैगर्दा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध सिरोहियाको समर्थकहरुले नाराबाजी गरेका थिए । समर्थकहरुले ‘गृहमन्त्री रवि लामिछाने मुर्दावाद, प्रहरी दमन मुर्दावाद’ लगायतका नारा लगाएका थिए ।



प्रतिक्रिया दिनुहोस्