Logo

उपेन्द्र यादव गौर हत्याकाण्डको अपराधी हो, कारबाही हुनुपर्छः प्रभु साह (भिडिओसहित)



काठमाडौं, १५ जेठ । आम जनता पार्र्टीका अध्यक्ष प्रभु साहले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई गौर हत्याकाण्डको अपराधीको संज्ञा दिएका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले गौर हत्याकाण्डको मुख्य दोषी नै जसपा नेपालका अध्यक्ष यादव रहेको दाबी गरेका हुन् ।

अध्यक्ष साहले पीडितले दिएको जाहेरी, आयोगहरुले दोषी ठहर्याएको प्रतिवेदनलगायतका प्रमाणबाट जसपा नेपालका अध्यक्ष यादवले गरेको अपराध पुष्टि हुने बताएका हुन् । उनले सोही समयदेखि उपेन्द्र कै कारण मधेशी र पहाडीबीच विभाजन आएको बताए । यादवले निम्त्याएको दुई समुदायबीचको द्वन्द्व अहिलेसम्म पनि समाधान हुन नसकिरहेको उनको टिप्पणी छ ।

‘उहाँ गौर हत्याकाण्डको अपराधि हो । जाहेरी दरखास्त छ, उहाँमाथि सबै आयोगहरुले दोषी ठहर्याएको प्रतिवेदन मैले बनाएको होईन । न्यायाधीशहरुको नेतृत्वमा बनेको प्रतिवेदनले भनेको छ । पीडितहरुले लिखित रुपमा दिएको जाहेरीले भन्छ । उहाँ दोषी हुनुहुन्छ कि होईन् भन्नेतिर कसरी जानुहुन्छ ?’ प्रश्न गर्दै उनले भने, ‘उपेन्द्र यादवको नेतृत्वमा गौरमा यत्रो नरसंहार भयो । पहाडीहरु लखेटिए, मारिए । पहाडी, मधेशी भनेर देशलाई यसरी विभाजन गरिएको छ कि अहिलेसम्म त्यसको पूर्ति हुनसकिरहेको छैन । यस्ता गलत कामको, अपराधि कामको हामी विरोध गर्छौं ।’

उपेन्द्रमाथि कानुनी कारबाही हुनुपर्ने अध्यक्ष साहले बताए । पीडितहरुले आन्दोलनका क्रममा तत्कालीन सरकारसँग सहमति गरेको स्मरण गराउँदै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उपेन्द्रलाई कारबाही गर्नुपर्ने बताए । उनले जाहेरी लिएर पनि अहिलेसम्म मुद्दा नचलाउने प्रहरी अधिकारीलाई कारबाही हुनुपर्नेपनि बताए ।

‘सहिद परिवारहरुले आन्दोलन गर्दै प्रधानमन्त्रीसहितको उपस्थितिमा एउटा सहमति भएको छ, अदालतसमेतले मुद्दा चलाउन भनिरहेको छ । जाहेरी दर्ता भएपछि मुद्दा चल्नुपर्ने हो नि । त्यो त नेपाल प्रहरीलाई कारबाही गर्नुपर्ने हो । जो यसको अफिसर हो, जाहेरी दर्ता गर्ने अनि कारबाही अगाडि नबढाउने ?’ उनले प्रश्न गरे ।

२०६३ सालको चैत ७ गते रौतहटको गौरमा तत्कालीन फोरम र माओवादीका कार्यकर्ताबीच भएको झडपमा परि माओवादीका २८ जना कार्यकर्ताको विभत्सरुपमा हत्या भएको थियो । उक्त रनसंहारकारी गौर घटनामा हाल जसपा नेपालका अध्यक्ष रहेका यादवसहितका १३० जना मुछिएका थिए । उक्त घटनामा जसपा नेपालका अध्यक्ष यादवको भूमिका प्रमुख रहेको आरोप लाग्दै आएको छ । File Photo/RN



प्रतिक्रिया दिनुहोस्