Logo

टीओआरमा जुटेको सहमति कांग्रेसद्धारा अनुमोदन, संसदीय छानबिन समिति आजै बन्ने



काठमाडौं,१५ जेठ । नेपाली कांग्रेसको संसदीय दलको बैठक सकिएको छ । आज बसेको संसदीय दलको बैठकले सहकारीको रकम हिनामिना प्रहरणमा सरकारले गठन गर्न लागेको छानबिन समिति र त्यस्को टीओआरबारे हिजो भएको सहमतिलाई अनुमोदन गरेको छ ।

सत्तापक्ष र प्रतिपक्षबीच सोमबार भएको सहमतिलाई आजको बैठकले अनुमोदन गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । “हिजो संघीय संसद्मा भएका मुख्य राजनीतिक दलहरुको बीचमा संसदीय छानबिन समिति गठन गरेर जाने सहमति भयो । त्यसको कार्यादेश के हुने भन्ने पनि सहमति भयो,” लेखकले भने, “कति सदस्यीय हुने, कति अवधि हुने भन्ने सहमति भयो । हामीले निष्कर्षउन्मुख सहमति भयो । हिजोको सहमति अनुमोदन गरिएको छ ।”

यसैबीच छानबिन समिति आजै बन्ने भएको छ । बेलुका ४ बजे बस्ने प्रतिनिधि सभाको बैठकले छानबिन समिति गठनबारे जानकारी गराउनेछ । प्रमुख दलहरुबीच समितिमा नेपाली कांग्रेस र एमालेबाट २–२ जना, माओवादी केन्द्र, राप्रपा र रास्वपाबाट एक–एक जना सदस्य रहने गरि ७ सदस्यीय संसदीय समिति बनाउने सहमति भएको छ ।

समितिलाई छानबिन प्रतिवेदन बुझाउन तीन महिनाको समय दिने तयारी छ । गृहमन्त्री लामिछानेको नाम उल्लेख नगरी हिनामिना भएका सहकारी संस्था र गोर्खा मिडिया नेटवर्क लगायत निश्चित कम्पनीको नाम उल्लेख गरेर समिति गठन गर्न दलहरु सहमति नजिक पुगेक दाबी गरिएको छ ।

संसदीय समितिको कार्यादेशमा पोखराको सूर्यदर्शन, चितवनको सहारा, बुटवलको सुप्रिम लगायतका सहकारीसँगै गोर्खा मिडिया नेटवर्कको नाम उल्लेख गरिने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्