Logo

राज्य र राजनीतिक नेतृत्वलाई गाली गर्ने चरित्र बदल्न जरुरी छः प्रधानमन्त्री प्रचण्ड



काठमाडौं, १७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राज्य र राजनीतिक नेतृत्वलाई गाली गर्ने चरित्र बदल्न जरुरी रहेको बताएका छन् । आज (बिहिबार) विराटनगरमा श्रमाधान रोजगार मेलाको उद्घाटन समारोहमा उनले नेपालमा केही भएको छैन र हुनसक्दैन भन्ने भाष्य निर्माण गरेर राजनीतिक नेतृत्वलाई गाली गर्ने चरित्रको विकास भएको र त्यसलाई बदल्न जरुरी रहेको बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले नेपालमा हरेक दृष्टिकोणले सम्भावना नै सम्भावना रहेको बताए । उनले यति राम्रो सम्भावना भएको देश हुँदा पनि नेपालमा केही हुँदैन भन्ने नकारात्मक भाष्य बनाउने कसरत भएको भन्दै आपत्ति जनाए । उनले यस्तो भाष्य निर्माण हुनु नेपाल र नेपालीका लागि दुर्भाग्य हुने पनि बताए । नेपालमा सर्वत्र उद्यमलशीतलता विकासका सम्भावनाहरु रहेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

पर्यटन विकास, उर्जाको विकास, जडिबुटी, कृषिमा आत्मनिर्भरतालगायतका क्षेत्रमा प्रचुर सम्भावना रहेको उनको भनाइ छ । ‘उद्यम व्यवसायको दृष्टिकोण सम्भावना नै सम्भावना भएको देश हो यो । तर, यो नकारात्मक भाष्यले विस्तारै देशभक्ति मर्दै जाने खतरा पैदा भएको छ ।’ उनले भने, ‘विगतमा हामी जहिले पनि भन्थ्यौं, घरको म राजा हुँ झुपडी नै भएपनि भनेर लक्ष्मीप्रसाद देवकोटाले भनेजस्तै अहिले देश अलि पछाडि नै परेपनि म नेपालको गैरवशाली नागरिक हुँ । इतिहासमा कही सकैको अगाडि नझुकेको आत्मसम्मानसहितको नागरिक हुँ भन्नुको ठाउँमा यहाँ बसेर के हुन्छ र भन्ने । राज्यलाई गाली गर्ने, राजनीतिक नेतृत्वलाई गाली गर्ने जो चरित्रको विकास भएको छ । यसलाई बदल्न जरुरी छ । हामीले दृढ इच्छाशक्तिको साथ बल गर्ने हो भने केही वर्षभित्र नै नेपाललाई विकसित देशमा बदल्न सकिन्छ ।’

प्रधानमन्त्री प्रचण्डले सन् २०२६ मा नेपाललाई एलडीसीबाट माथि जाने र २०३० मा मध्यम आय भएको देश, सस्टिनेबल डेभलपमेन्ट प्रोग्राममा पुग्ने भनेर लक्ष्य निर्धाण गरेको बताए । नकारात्मक भाष्यको ठाउँमा सकारात्मक भाष्य र आत्मविश्वास पैदा गर्ने पहल गर्दा देशमा सबै कुरा सम्भव रहेको उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्