Logo

सहकारी छाडेर गगन थापाको ध्यान रेमिट्यान्सतिर



काठमाडौँ, १७ जेठ स् नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालको अर्थतन्त्रको केन्द्र वैदेशिक रोजगारबाट प्राप्त रेमिट्यान्स बनेको बताएका छन् । कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनले आयोजना गरेको ‘बधाई, शुभकामना तथा धन्यवाद’कार्यक्रममा उनले नेपालको अर्थतन्त्रको मुख्य माध्यम वैदेशिक रोजगारबाट प्राप्त ‘रेमिट्यान्स’ भएको बताएका हुन् ।

‘वैदेशिक रोजगारमा गएका श्रमिकले दुःख गरेर पठाएको रकमबाट नेपालको अर्थतन्त्र चलेको छ, मुलुकको अर्थतन्त्रको मुख्य माध्यम वैदेशिक रोजगारमा गएका नेपालीको श्रम बनेको छ,’– उनले भने ।

महामन्त्री थापाले प्रत्येक वर्ष झण्डै पाँच लाख नेपालीलाई रोजगारी आवश्यक परे पनि देशले रोजगार दिन नसकेका कारण विदेशिनुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको बताए । आगामी एक दशक नेपालका लागि वैदेशिक रोजगार यथार्थ भएको बताए ।

पूर्वमन्त्रीसमेत रहेका थापाले विसं २०४६ को परिवर्तनपछि तत्कालीन गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारको पालमा निजी क्षेत्रबाट धेरै उद्योगधन्दा सञ्चालन भए पनि दशवर्षे जनयुद्ध र देशको राजनीतिक अस्थिरताका कारण बन्द भएको जिकिर गरे ।

महामन्त्री थापाले कांग्रेसको सङ्गठन विस्तारमा नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनको ठूलो भूमिका रहने बताए । पार्टीले वैदेशिक रोजगारीको क्षेत्रमा नीति बनाउँदै गर्दा एशोसिएसनले महत्त्वपूर्ण राय, सल्लाह सुझाव दिने महामन्त्री थापाले अपेक्षा गरे ।

उनले वैदेशिक रोजगार व्यवसायका सम्बन्धमा देखिएका समस्या समाधान गर्नका लागि पार्टी लाग्ने विश्वास व्यक्त गरे । वैदेशिक रोजगार व्यवसायलाई मर्यादित, व्यवस्थित, पारदर्शी, मान र सम्मानका साथ सञ्चालनमा लाग्न उनले व्यवसायीलाई आग्रहसमेत गरे ।



प्रतिक्रिया दिनुहोस्