Logo

कहिले खुल्छ राजा महेन्द्रको ‘रहस्यमय’ मृत्यु भएको दियालो बङ्गला ?



  • राधिका ढकाल

भौगोलिक दूरीको मध्यविन्दु जँहा परोस्, त्यो हाम्रो सरोकारको विषय भएन । देशको गतिविधिलाई मध्यनजर गर्ने हो भने चितवनको सदरमुकाम भरतपुर वा नारायणघाट चाँही खासमा देशको मध्यविन्दु हो । दियालो दरबार देशको मध्यविन्दु वा बीच भागमा बसेर देशमा सन्तुलित विकासका लागि योजना बनाउने गरी २०२६ सालमा चितवनमा स्थापना गरिएको मानिन्छ । तत्कालीन राजा महेन्द्रले स्थापना गरेको यही दरबारमा तत्कालै उनको रहस्यमय ढङ्गबाट मृत्युसमेत भयो ।

तत्कालीन सरकारले उनको मृत्युलाई स्वभाविक माने पनि यसलाई पश्चिमाहरुको षड्यन्त्र मान्नेहरु पनि छन्। तत्कालीन समयमा राष्ट्रगुरु योगी नरहरी नाथले राजा महेन्द्रको मृत्यु योजनाबद्ध ढङ्गबाट गराइएको बताएका थिए। उनको मृत्यु हुनु केही घण्टा अगाडि केही विदेशी महिलाहरु दरबारमा आफूले देखेको उनको दाबी थियो।
राजा महेन्द्रले निकै भव्य र व्यवस्थित तवरले निर्माण गरेको यो दरबार कस्तो छ भन्ने जिज्ञाशा लाग्न सक्छ। यसको जवाफ हो, अहिलेसम्म आम नागरिकले देख्न पाएका छैनन्। त्यहाँ काम गर्ने कर्मचारी, सुसारे र नेपाली सेनाबाहेक अरुका लागि दरबार प्रवेशको अनुमति छैन ।

दियालो दरबार शाहवंशीय राजाहरुको शीतकालीन दरबार हो । यो दरबार नारायणी नदी किनारमा देवघाट जाने सडक तथा राजधानी जाने सडक मार्गको चोकमा खडा छ। यो दरबारमा सबैभन्दा धेरै बस्ने महेन्द्र हुन भने वीरेन्द्र पनि माघेसंक्रान्तिको अवसर परेर बस्न आउने गरेको यहाँ कार्यरत कर्मचारीहरु बताउँछन्। उनी आउदा चितवन आसपासका स्थानीय बोलाएर विकासका बारेमा छलफल गर्ने गरेका थिए। राजा ज्ञानेन्द्र पनि यँहा एक दिनका लागि आएका थिए। हाल नेपालमा गणतन्त्र आएपछि नेपाल ट्रष्टको स्वामित्वमा रहेको छ। राजसंस्थाको मुख्य दरबार नारायणहिटी सर्वसाधारणका लागि पार्टीसमेत खान मिल्ने गरी भोजन गृहका रुपमा विकास गरिरहँदा दियालो दरबार भने लुकाइनु दुखद भएको चितवनका पर्यटन व्यवसायीहरु बताउछन् ।

सुरक्षार्थ खटिने नेपाली सेना र नेपाल ट्रष्टका सात जना कर्मचारीबाहेक अरु कोही यस दरबार परिसरमा प्रवेश समेत गर्न पाउदैनन्। नेपाली सेनाको घेरामा जंगलभित्र एकान्तमा दियालो बङ्गला दरबार रहस्य बाँचिरहेको प्रतीत हुन्छ। सर्वसाधारण मात्र होइन, चितवनका सरकारी अधिकारी, जनप्रतिनिधि, यहाँका पर्यटन व्यवसायी उद्योगी उद्योग वाणिज्य सङ्घका पदाधिकारीहरुले समेत दरबार हेर्ने अवसर पाएका छैनन््। देवघाट जाने बाटोको मुखैमा रहेकाले आम सर्वसाधारणलाई पनि यहाँभित्र कस्तो छ होला ? भन्ने कौतुहलता जाग्ने गरेकाले यसलाई सर्वसाधारणका लागि अवलोकन गर्न खुला गर्ने व्यवस्था मिलाउनुपर्ने सरोकारवालाहरुको जिजिर छ । दरबार नेपाली सेनाकै संरक्षणमा रहने गरी सर्वसाधारणका लागि खुल्ला गर्न सके यसको महङ्खव थप बढ्नका साथै संरक्षण पनि हुने यहाका स्थानीयहरुको विश्वास छ । चितवनको पर्यटन विकासका लागी पनि यो दरबारलाई संग्रहालयका रुपमा विकास गर्न आवश्यक छ ।

दियालोको जग्गामा यतीको रजाइँः तिरिएन सम्झौता अनुसारको करोडौं बक्यौता

नेपाल ट्रष्टका नाममा रहेको चितवनस्थित दियालो बङ्गलाको ६ बिघा जग्गा लिएर यती ग्रुपले सरकारलाई भाडा नतिरी रिसोर्ट सञ्चालन गर्दै तथ्य खुलेको छ । यति ग्रुपको लगानी रहेको कसरा जंगल रिसोर्टले २०७४ भदौदेखि भाडा नै नतिरेको तथ्य खुलेको हो । नेपाल ट्रष्टको कार्यालयले यती ग्रुपको कसरा रिसोर्टसँग वार्षिक साढे २७ लाख भाडा बुझाउने गरी २०७३ भदौमा पाँच वर्षका लागि लिजमा दिने सम्झौता गरेको थियो।

रिसोर्टले दियालो बङ्गला परिसर पूर्वतर्फको ६ बिगाहा ११ धुर जग्गा प्रयोग गर्ने गरी सम्झौता भएको थियो । सम्झौता भएको पहिलो वर्षको भाडा तिरे पनि दोस्रो वर्षबाट यती ग्रुपको कसरा जंगल रिसोर्टले अहिलेसम्म भाडा तिरेको छैन। अब आएर त झन सम्झौताको अवधि सकिइसक्दा समेत मुद्दा अदालतमा विचाराधीन नै छ । सम्झौताको अवधि थपेरै पनि तिर्नुपर्ने भाडा हालको दिनसम्ममा १ करोड ९० लाख हाराहारी हुन आउँछ । रिसोर्ट सञ्चालनका लागि जग्गा लिएपनि कम्पनीले जग्गा लिज बापतको भाडा रकम नतिरेको कम्पनीलाई ट्रष्टको कार्यालयले भाडा भुक्तानी गर्ने बारम्बार पत्रचार गरे पनि रकम असुली हुन हुन सकेको छनै । कम्पनीले सम्झौताअनुसार बक्यौता भाडा तिरेर जग्गा प्रयोग गर्नुपर्ने नत्र सम्झौता रद्द गर्ने भने पनि कम्पनीले केही कुनै जवाफ दिएको छैन ।

महालेखाले भनेको थियोः शतप्रतिशत जरिवानासहित भाडा असुली गर्नू

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५७ औँ वार्षिक प्रतिवेदनमा रिसोर्ट सञ्चालक कम्पनीसँग शतप्रतिशत जरिवानासहित भाडा असुली गर्न निर्देशन दिइएको थियो । ‘चितवन भरतपुर महानगरपालिका वडा नं. १ स्थित दियालो बङ्गला परिसरको पूर्वतर्फको ६ बिगाहा ११ धुर जग्गा वार्षिक २७ लाख ५० हजार रुपैयाँ भाडा बुझाउने गरी २०७३ भाद्रदेखि पाँच वर्षको लागि एक रिसोर्टसँग सम्झौता भएको छ ।

उक्त दुवै सम्झौतामा बुझाउनुपर्ने भाडाको किस्ता तोकिएको समयमा नबुझाएमा शतप्रतिशत जरिवानासमेत असुल उपर गर्नुपर्छ । रिसोर्ट सञ्चालन गर्नेले २०७४ भदौदेखि जग्गा भाडाबापतको रकम तिरको छैन,’ प्रतिवेदनमा भनिएको छ । यती ग्रुपले नेपाल ट्रष्टकै स्वामित्वमा रहेको गोर्कण फरेस्टको २ हजार ७ सय रोपनीभन्दा बढी र कालीमाटी र दबारमार्गका जग्गामा समेत शक्तिको आडमा रजाइँ गर्दै आएको छ ।

दियालो बङ्गलालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने

ऐतिहासिक महङ्खवको दियालो बङ्गलालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्दै सर्वसाधारणका लागि खुला गर्ने तयारी गरिएको छ। नेपाल ट्रष्ट सञ्चालक समितिले सोे बङ्गलालाई पर्यटकीय स्थलका रुपमा प्रवद्र्धन गर्ने निर्णय गरिसकेको छ । नेपाल पर्यटन बोर्डसँग समन्वय गरी कार्यविधि मस्यौदा सञ्चालक समितिसमक्ष पेश गर्न व्यवस्थापनलाई सहमति दिने निर्णय गरिएको छ ।

जिल्लाको प्रमुख शहर नारायणगढ बजार नजिकैको सो बङ्गला जङ्गलभित्र एकान्तमा छ । उक्त दरबार यतिबेला हेरचाह र प्रयोगविहीन भएकाले ओझेलमा परेको छ। विसं. २०२६ मा निर्मित सो बङ्गला राजा र राजपरिवारका सदस्यले काठमाडौको कोलाहाल छल्न आउने मुख्य गन्तव्य बनेको थियो। राजा आइरहने भएकाले दियालो बङ्गला झकिझकाउ हुने गथ्र्यो । त्यसो त राजा महेन्द्रको निधन यही दरबारमा भएकाले र यससँगै पवित्र तीर्थस्थल देवघाटको मुख्य प्रवेशद्वार भएकाले पनि यो दरबारको महङ्खव बढी भएको हो ।

पूर्वराजपरिवारको सम्पत्तिको संरक्षण नेपाल ट्रष्टले गरिरहेको छ । उक्त ट्रष्टको एकाइ कार्यालय आँपटारीमा छ। दरबारभित्र पहिलो तलामा ठूलो बैठक कक्ष छ । जसको भित्तामा पूर्वराजारानी महेन्द्र र वीरेन्द्रको तस्बीर देख्न सकिन्छ। भ¥याङमा २०२६ सालमा राजा महेन्द्रले सिकार गरी मारेको घडियाल गोही सजाएर राखिएको छ। भित्तामा बाघको टाउको जस्ताको तस्तै अवस्थामा छ ।

दरबारमा पाँचवटा खोपी (बेडरुम) छन् । १ नं खोपी मुमा रत्नराज्यको हो भने २ नं राजा र ३ नं रानी, ४ र ५ राजपरिवारका अन्य सदस्यको भएको त्यहाँ कार्यरत कर्मचारीहरु बताउछन्। राजपरिवारले प्रयोग गरेका सामग्री अहिले पनि यथावत छ । छेउमा दरबारका महिला सुसारेका लागि ‘नानीगञ्ज’ छ भने सँगै राजाको सुरक्षा गार्डका लागि‘एडिसी क्वाटर’ र केही पर ग्यारेज छ । त्यहाँको पौडी पोखरीमा अहिले पानी छैन। कपडा फेर्नका लागि बनाइएको आडैको घरमा ट्रष्टको कार्यालय छ। ट्रष्टका अनुसार ५७ बिघा १३ कट्ठा सात धुरमा बङ्गला क्षेत्र फैलिएको छ। बङ्गलाको पश्चिमतर्फ नारायणी नदीले पनि दरबार क्षेत्रको सौन्दर्य बढाएको छ। दरबार परिसरको बगैँचा अहिले पनि यथावत छ ।

असफल रह्यो भरतपुर भ्रमण वर्षमा दियालो बङ्गला खुलाउन भएको पहल

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार नेपाल ट्रष्टको मातहतमा रहेको दियालो बङ्गलालाई सर्वसाधारणले समेत अवलोकन गर्न पाउने गरी खुला गर्न पहल गरिएको थियो। दियालो बङ्गलालाई पर्यटकीय गन्तव्य बनाउन नेपाल ट्रष्ट र पर्यटन मन्त्रालयलाई प्रमुख दाहालले आग्रह गर्दै पत्राचार गरेकी थिइ्न। यसको जवाफको प्रतीक्षामा बसिरहदा भरतपुर भ्रमण वर्ष सुरु भैसकेको दाहाल बताउछिन् ।

प्रमुख दाहालका अनुसार महानगरपालिकाले जिटुजी लिज प्रक्रियाबाट बङ्गलालाई लिएर पुनःनिर्माण, सञ्चालन तथा संरक्षण गर्ने लक्ष्य लिएको छ। दरबार अहिले जीर्ण बनेकाले यसको पुनःनिर्माण र सौन्दर्यीकरण गरी सर्वसाधारणलाई टिकटको व्यवस्था गरी घुम्ने पर्यटकीयस्थलको रुपमा विकास गर्ने महानगरपालिकाले प्रक्रिया अघि बढाएको प्रमुख दाहाल बताउँछिन् ।

भरतपुर भ्रमण वर्षको मिति नजिकिँदै आइरहेको बेला भरतपुर महानगर, पर्यटन विज्ञ समूह तथा प्रशासनिक प्रतिनिधिहरुले दियालो बङ्गलाको आइतबार स्थलगत अवलोकनसमेत गरेका छन्। अवलोकनमा ट्रष्टका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । दियालो बङ्गला सर्वसाधारणलाई हेर्न र घुम्नका लागि दशकौँदेखि रोक लगाइएको छ। यसलाई खुला गर्न भरतपुर महानगर भ्रमण वर्षको मुखमा तातेको छ । ऐतिहासिक महत्वको दियालो बङ्गलालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्दै सर्वसाधारणका लागि खुला गर्ने विषय यसअघि पनि पटकपटक उठेको थियो, तर मूर्तरुप भने हालसम्म पाउन सकेको छैन । आँपटारीनजिकको जंगलको मध्यभागमा रहेको दियालो बङ्गलालाई हाल नेपाली सेनाले सुरक्षा प्रदान गरेको छ ।

ऐतिहासिकरुपले निकै महत्वपूर्ण मानिएको उक्त दरबारमा स्व. राजा महेन्द्रदेखि ज्ञानेन्द्रसम्मले बसोवास गरेका छन्। दियालो बङ्गलामा राजा महेन्द्रको निधन भएको बताइन्छ । हाल नेपाल ट्रष्टको कार्यालयका कर्मचारीले यसको रेखदेख र संरक्षण गरिरहेका छन्। दियालो बङ्गलाको सरसफाइ र रेखदेखमा नेपाल ट्रष्टका पाँच जना कर्मचारी खटिएका छन् । २०६४ साल पौष २२ गतेबाट नेपाल ट्रष्ट ऐन जारी गरी राजाका श्रीसम्पत्ति ट्रष्टअन्तर्गत ल्याइएको हो । २०२६ सालमा निर्माण भएको यस बङ्गला राजा र राजपरिवारका सदस्य बस्नका लागि बनाइएको हो । ऐतिहासिक सुन्दर ठाउँ भएर पनि यो सर्वसाधारणको पहुँचमा हालसम्म आएको छैन । दियालो बङ्गला ५७ बिघा १३ कट्ठा सात धुरमा फैलिएको छ ।



प्रतिक्रिया दिनुहोस्