Logo

ट्राफिक कारबाहीमा परेकालाई सडकमा खटाउने गृहमन्त्रीको निर्णयविरुद्धको रिट श्रेष्ठको इजलासमा



काठमाडौं । विभिन्न कारणले ट्राफिक नियम उल्लंघन गरेकाहरुलाई ट्राफिक प्रहरीले शारीरिक दण्ड दिन थालेको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिटमाथि आज सुनुवाई हुँदैछ । सो रिट सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासमा पेशी परेको छ ।

मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउनेहरुलाई स्वयंसेवकका रुपमा सडकमा खटाउने भनी गृहमन्त्री रवि लामिछानेले गरेको निर्णयलाई चुनौती दिई रिट निवेदन दर्ता भएको थियो ।

बझाङका कृष्ण विक, स्याङ्जाका आकाश भट्ट लगायत ७ जनाले गृहमन्त्री लामिछानेको निर्णयमाथि चुनौती दिई सर्वोच्च अदालतमा रिट हालेका हुन् ।

गृहमन्त्री रवि लामिछानेले गणतन्त्र दिवसको दिन महिनावारी भएका महिला ट्राफिक प्रहरीलाई चार दिनसम्म सडकमा ड्युटीमा खटिन नपर्ने गरी आराम दिने र उनीहरुको सट्टा मापसे कारबाहीमा परेकाहरुलाई स्वयंसेवकको रुपमा सडकमा खटाउने निर्णय गरेको सार्वजनिक गरेका थिए । जुन अहिले चर्चा र आलोचना दुवैको केन्द्रमा छ ।



प्रतिक्रिया दिनुहोस्