काठमाडौं, २१ जेठ । नेपाली कांग्रेसका सांसद तथा पूर्व मन्त्री दीपक गिरीले विदेशबाट काम गरेर फर्किएका नेपालीहरुलाई तीन महिना भित्र अनिवार्य स्वास्थ्य परीक्षणको व्यवस्था गर्न माग गरेका छन्।
सोमबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै सांसद गिरीले नेपालमा मृगौलाका कूल बिरामी मध्ये झन्डै तीस प्रतिशत खाडी मुलुकमा काम गरेर फर्केका नेपालीहरु रहेको तथ्यांकहरुले देखाएको बताए ।
‘विदेशबाट फर्किएयका नेपालीहरुलै तीन महिनाभित्र नजिकको सरकारी अस्पतालमा गएर अनिवार्य स्वास्थ्य परीक्षण गर्न र यदि कुनै उपचार गर्नुपर्ने भए उपचारको सम्पूर्ण खर्च वैदेशिक रोजगार बोर्ड र सामाजिक सुरक्षा कोषबाट व्यहोर्ने व्यवस्था मिलाउन नेपाल सरकारसँग जोडदार माग गर्दर्छु,’ उनले भने ।
सांसद गिरीले रेमिटान्स (विप्रेषण) ले नेपाली अर्थतन्त्र धानी रहेको भएता पनि यसको लागि नेपालीहरुले ठूलो मूल्य पनि तिर्नु परिरहेको बताए।
सांसद गिरीले नेपालको अर्थतन्त्र धानिरहेका वैदेशिक रोजगारमा गएका नेपालीहरुको स्वास्थ्यको हेरविचार गर्ने जिम्मा पनि राज्यको रहेको बताए ।