Logo

गिरीबन्धुको नीतिगत भ्रष्टाचारबारे बालेनले बोल्नु स्वभाविक होः वरिष्ठ अधिवक्ता त्रिपाठी



काठमाडौं, २२ जेठ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गिरीबन्धु टि स्टेट जग्गा प्रकरणमा काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले दिएको अभिव्यक्तिलाई स्वभविक भनेका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सर्वोच्चको संवैधानिक इजलासले नै भनिुकेको कुरा बालेनले भन्नुलाई स्वभाविक रुपमा लिनुपर्ने बताएका हुन् ।

‘बालेन शाहजीले बोल्नुभयो । तर, यसमा सर्वोच्च अदालतको संवैधानिक इजलासले पनि बोलिसकेको छ । कानुनी रुपमा नीतिगत भ्रष्टाचार भएको छ । सट्टापट्टा गर्ने जुन कुरा छ, यो गैरकानुनी छ भनेर त्यसलाई बदर गर्दियो । सर्वोच्चको संवैधानिक इजलासले गरेको निर्णय फाइनल हुन्छ । त्यसमा पुनरावलोकन पनि हुँदैन ।’ उनले भने, ‘सर्वोच्च अदालतको संवैधानिक इजलासले यसमा अनियमितता भएको छ, गोलमाल भएको छ, यो नीतिगत भ्रष्टाचार हो । यो गैरकानुनी छ भनेर बोलिसकेपछि अहिले बालेन शाहले बोल्नु कुन अस्वभाविक कुरा हो र ?’

गिरीबन्धुमा नीतिगत भ्रष्टाचार भएको र त्यो एमाले अध्यक्ष ओलीकै तानाबुना र डिजाइनमा भएको उनको आरोप छ । कानुन निर्माण प्रक्रिया नै दुरुपयोग गरेर ओलीले नीतिगत भ्रष्टाचार गरेको उनको भनाइ छ । वरिष्ठ अधिवक्ता त्रिपाठीले गिरीबन्धुको नीतिगत भ्रष्टाचार छानविन हुनुपर्ने बताए ।

‘त्यो ठाउँ एकदमै भ्यालुयबल ठाउँ हो । साट्न खोजिएको थियो । त्यो ठाउँ एकदमै प्राइम लोकेशनमा छ । जस्तो काठमाडौंको न्यूरोडको जग्गा र लप्सिफेदीको जग्गा एकै हुँदैन । यसको छानविन हुनुपर्छ ।’ उनले भने, ‘यसरी कानुन निर्माण प्रक्रिया नै दुरुपयोग गरेर र बनाएको कानुन पनि मिचेर काम भएको छ । यसमा ओलीजीकै तानाबुनामा भएको छ, उहाँको डिजाइनमा भएको छ । संसद्लाई पनि दुरुपयोग गरियो । संसद्मा उहाँको बहुमत थियो । उहाँले जस्तो कानुनमा पनि ताली पिटाउन सक्नुहुन्थ्यो । हाम्रा संसद्हरु यन्त्र मानवजस्ता छन् । सरकारले ल्याएको जस्तोसुकै कानुन पनि पास गर्न तयार छन् ।’



प्रतिक्रिया दिनुहोस्