काठमाडौं, २३ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं प्रतिनिधि सभा सदस्य शिशिर खनालले मन्त्री सुमना श्रेष्ठमाथि विभिन्न विषयमा टिप्पणी गरिएको भन्दै आपत्ति जनाएका छन् । आज (बुधबार) प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले मन्त्री श्रेष्ठको बारेमा गरेको टिप्पणीमा आपत्ति जनाएका हुन् । मन्त्री सुमना विदेशमा उच्च शिक्षा हासिल गरेर आजभन्दा १० वर्ष पहिला नेपाल फर्किएको र त्यसपछि निरन्तर समाजसेवामा रहेको बताउँदै उनले भर्खर घुम्दै आएको मान्छे मन्त्री भएको भनी गरिएको टिप्पणीमा आपत्ति जनाए ।
मन्त्री सुमनालाई समानुपातिक सांसद भनेर संसद्भित्रै होच्याउने गरिएको उनको भनाइ छ । उनले सुमनाले भूकम्पको बेला औषधि लिएर गाउँ–गाउँ पुगेको, नाकाबन्दीका बेला मानिसहरुलाई यात्राको सुविधा प्रवाह गरेको र उद्यममार्फत रोजगारी सिर्जना गरेको बताए ।
‘विदेशमा उच्च शिक्षा हासिल गरेकी महिला नेतृ देश फर्किईन् १० वर्ष अगाडि । भुकम्पको बेला औषधि लिएर गाउँ पुगिन् । नाकाबन्दीको बेला सडकमा हिँडिरहेका मानिसहरुलाई यात्राको सुविधा प्रवाह गरिन् । उद्यममार्फत रोजगारी सिर्जना गरिन् र राजनीतिमा आईन् । आज मन्त्री भईन् । उनलाई भर्खर घुम्दाघुम्दै आएर मन्त्री बनेको छ भनिन्छ । कहिले लुगामा टिप्पणी गरिन्छ । कहिले समानुपातिक सांसद भनेर होच्याउने प्रयास गरिन्छ, यही संसद्भित्र,’– उनले भने ।
एमाले अध्यक्ष ओलीले मन्त्री सुमनामाथि गरेको टिप्पणी सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । अध्यक्ष ओलीले सुमनाले विदेशीसँग विवाह गरेको र नेपाल घुम्न आएको बेला मन्त्री भएको टिप्पणी गरेका थिए । ‘विदेशीसँग बिहे गरेको सुन्छु, नेपाल घुम्न आएकी मन्त्री पो भईन्,’– ओलीले भनेका थिए ।