काठमाडौं,२४ जेठ । मधेश प्रदेशको मुख्यमन्त्री जनमत पार्टीका सतिश कुमार सिंह बन्ने भएका छन् । जनमतले सिंहलाई मुख्यमन्त्रीमा सारेको हो ।
सप्तरी क्षेत्र नम्बर २ को १ बाट निर्वाचित भएका उनलाई मुख्यमन्त्री बनाउन लागिएको जनमत पार्टीले जनाएको छ ।
जनमतले सप्तरीबाटै समानुपातिक सांसद रहेकी रंजुकुमारी मंडल खंगलाई तत्काल बिनाविभागीय राज्यमन्त्रीको शपथ खुवाउने निर्णय पनि गरेको छ।
बिहीबार बिहान १० बजे बस्ने गठबन्धन दलको बैठकबाट कुन पार्टीबाट कसलाई मन्त्री नियुक्त गर्ने निर्णय गर्ने तयारी छ।
बुधबार प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा) नेता सरोजकुमार यादवले विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नयाँ मुख्यमन्त्रीका लागि शुक्रबार बिहान १० बजेसम्म दाबी पेस गर्न आह्वान गरेकी थिइन्।
जनमतको नेतृत्वमा नयाँ सरकार गठनका लागि चार दलबीच पहिल्यै सहमति भइसकेको छ। नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनमत पार्टीबीच नयाँ सरकार गठनका लागि सहमति भएको थियो।
चार दलीय गठबन्धनको सरकारमा मन्त्रालय भागबन्डा गर्ने विषयमा बुधबार अबेर राति नेताहरूबीच छलफल भएको थियो।
बुधबार मधेस प्रदेशका मुख्यमन्त्री यादव विश्वासको मत लिन असफल भएपछि नयाँ सरकार गठनको तयारीलाई तीव्रता दिइएको हो। असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यताका कारण दलहरूले सरकार गठनलाई तीव्रता दिएका हुन्।
जनमत पार्टीको प्रदेश संसदीय दल नेतामा महेशप्रसाद यादव छन्। यादवसँगै संघीय महामन्त्री चन्दन सिंहले पनि दाबीगरेका थिए । तर, दुवैलाई पन्छाउँदै सिंहले बाजी मार्ने भएका हुन् ।
संविधानको धारा १६८ (२) मा प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने प्रावधान रहेकाले सोही व्यवस्थाअनुसार सिंहले नेतृत्व पाउन लागेका हुन्।