काठमाडौं, २५ जेठ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले लगाएको आरोपमा जवाफ फर्काएका छन् । आज (शुक्रबार) भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुको प्रश्नमा उनले आफू असभ्य राजनीतिको पक्षमा नरहेको बताए ।
काठमाडौं महानगरप्रमुख शाहले एमाले अध्यक्ष ओलीले गिरीबन्धु टि स्टेटमा १० हजार करोड भ्रष्टाचार गरेको आरोप लगाएका थिए । बालेनको उक्त आरोपमा एमाले नेता तथा कार्यकर्ताहरुले खण्डण र आलोचना गर्दै आएको भएपनि ओली भने मौन थिए ।
मौन बसेका ओलीले सञ्चारकर्मीहरुले प्रश्न गरेपछि उक्त विषयमा बोल्न बाध्य भएका हुन् । ओलीले आफूबारे लागेको आरोपमा भैंसीको ढाडमा भिँगा बसेर केही नहुने बताए । ढाडमा बसेको भिँगाले ढङ्ग परेर चार लात्त हाने भन्ने सोचेपनि भैँसीलाई केही फरक नपर्ने उनको भनाइ छ ।
ओलीले आफू राष्ट्रिय राजनीतिलाई परिपक्व, जिम्मेवार, सभ्य राजनीतिमा लानुपर्छ भन्ने पक्षमा रहेको बताउँदै कसैको अनावश्यक टिप्पणी नगर्ने बताए । File Photo/RN