काठमाडौं,२५ जेठ । सर्वोच्च अदालतको परमादेशले गण्डकी प्रदेशको मुख्यमन्त्रीमा फर्किएका नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डेले सोमबार प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् । उनले आज प्रदेश सभामा विशवासको मतका लागि पत्र दर्ता गराएका छन् ।
यता पाण्डेलाई विश्वासको मत दिन अनुरोध गर्दै कांग्रैस सभापति शेरबहादुर देउवाले राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलाई पत्र पठाएका छन् । विशेष परिस्थिति भन्दै देउवाले राप्रपाको साथ खाजेका छन् ।
‘प्रदेशको नीति तथा कार्यक्रम, बजेट निर्माणको संवेदनशील समय भएकोले मुख्यमन्त्री पाण्डेले यही जेठ २८ गते प्रदेश सभाबाट विश्वास मत लिन लागेको विशेष परिस्थितिमा तपाईंको दलको तर्फबाट विश्वास मत प्रदान गरी सहयोग गर्नका लागि अनुरोधसहित कांग्रेसको तर्फबाट यो पत्र पठाएको छु,’ सभापति देउवाले लिङ्देनलाई पठाएको पत्रमा भनिएको छ।
तत्कालीन मुख्यमन्त्री खगराज अधिकारीको नियुक्ति बदर गर्दै सर्वोच्चले पाण्डेलाई मुख्यमन्त्री बनाईदिएको थियो । तर, उनलाई आवश्यक पर्ने विश्वासको मत अझै जुर्न सकेको छैनन् । ६० सदस्यीय प्रदेश सभामा ३१ जनाको समर्थन आवश्यक पर्छ । कांग्रेसका प्रदेश सभामा २७ सांसद छन् भने राप्रपा २ सांसद छन् ।