काठमाडौं, २५ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आगामी जेठ २८ गते विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री पाण्डेले आज प्रदेश संसदीय दलको कार्यालयमा विश्वासको मत लिने सम्बन्धि पत्र दर्ता गराएका हुन् ।
गण्डकीका तत्कालीन मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मतलाई असंवैधानिक घोषणा गर्दै सर्वोच्च अदालतले पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको थियो ।
पाण्डे नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले विश्वासको मत नपाएको खण्डमा गण्डकीमा पनि उपधारा ५ बमोजिमको सरकार गठन हुनेछ ।
गण्डकीमा विश्वासको मतका लागि ३१ सांसदहरुको समर्थन आवश्यक छ । तर, कांग्रेससँग २७ सिटमात्रै छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले पाण्डेलाई विश्वासको मत दिलाउनका लागि सक्रियता बढाएका छन् । देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टीका नेतासँग सहयोग गर्न आग्रह गरेका छन् । गण्डकीमा राप्रपाको २ सिट छ ।
त्यस्तै, देउवाले गण्डकी प्रदेशका स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङ्गे) सँग पनि विश्वासको मत दिएर सहयोग गर्न आग्रह गरेको बताइएको छ । देउवाको आग्रहमा मनाङ्गेले ‘पहिला ३० सिटको सुनिश्चितता गर्नु’ भन्ने जवाफ दिएको बताइएको छ ।