काठमाडौं, २६ जेठ । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य सूर्य थापाले सहकारी ठगी प्रकरण छानविन गर्न बनेको समितिले गत जेठ २३ गतेदेखि नै काम सुरु भइसकेको बताएका छन् । आज (शनिबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कार्यदलले बनाएको कार्यदेशअनुसार नै छानविनको काम अगाडि जाने बताएका हुन् । समितिमा विभिन्न दलका सांसदहरुको आ–आफ्नो धारणा सुनेर एउटै निश्कर्षमा पुग्ने बताए ।
उनले हिजो बसेको समितिको बैठकले विगतमा सहकारी सम्बन्धि बनेका अध्ययन समिति, छानविन समिति र आयोगले तयार पारेको प्रतिवेदनहरु उपलब्ध गराउन माग गरिएको बताए । सहकारी समस्या आजको राष्ट्रिय समस्या बनेको बताउँदै उनले यस विषयमा आफूहरु अत्यन्त गम्भीर भएर लागेको बताए ।
नेता थापाले समितिमा रहेको सबै सदस्यहरुले प्रदान गरिएको समयभित्रै काम सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरेको पनि उनले बताए । निर्धारित समयभित्रै काम गर्नेगरी कार्यतालिका प्रस्तुत गरेको उनले बताए । उनले पीडितहरुको समस्यामा केन्द्रीत हुने कुरालाई मात्रै अहिले समितिका सदस्यहरुले समय दिइरहेको बताए ।
सहकारी ठगी प्रकरण छानविनका लागि बनेको समितिका सभापतिसमेत रहेका थापाले समिति कसैलाई तान्न र बचाउनका लागि नभएको बताए । उनले तथ्य र प्रमाणका आधारमा जो दोषी देखिए पनि समितिले कारबाहीको सिफारिस गर्ने बताए ।
‘हामी कुनै इफ बट नभनी तीन महिनामा काम सक्छौं । छानविन गर्दाखेरी तथ्यको आधारमा सत्यमा पुग्छौं । तथ्यले कसैलाई देखाउँछ भने कुन ओहदाको को हो भनेर त्यतातिर चिन्ता गर्दैनौं । हामी मुख्यकुरा प्रमाण तथ्यमा केन्द्रीत हुन्छौं । तथ्य र प्रमाण मेरैविरुद्ध आयो, मैले नै अपचलन गरेको छु भनेपनि मैले पनि छुट पाउँदिन,’– उनले भने ।