काठमाडौं, २६ जेठ । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले पार्टीले सहकारी ठगी प्रकरण जसरी नै गिरीबन्धुलाई पनि उठाउन जरुरी रहेको बताएका छन् ।
आज (शनिबार) कांग्रेस काठमाडौँ महानगरपालिका–३ वडा कार्यसमितिले आयोजना गरेको ‘वर्तमान राजनीतिक अवस्थामा नेपाली कांग्रेसको भूमिका’ विषयक अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले गिरिबन्धु टि स्टेटका बारेमा सहकारी जस्तै कुरा उठाउन जरुरी रहेको बताएका हुन् । उनले गिरिबन्धु टि स्टेटका बारेमा अदालतको फैसलापछि मात्रै कांग्रेसले बोलेको बताए ।
नेता पौडेलले जनता सचेत भइसकेको बताउँदै सोहीअनुसार पार्टीले रणनीति बनाएर अगाडि बढ्नुपर्ने बताए । ‘सङ्गठनलाई सशक्त बनाउन जनसम्पर्क र जनताका चाहनालाई सम्बोधन गरेर अगाडि बढ्नुपर्छ,’– उनले भने ।
त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेतर्फ लक्षित गर्दै उनले सहकारी ठगी प्रकरणमा छानविन समिति बनिसकेको अवस्थामा आरोपित मानिसहरु पदमा बसिराख्नु उचित नहुने बताए ।