काठमाडौं, २६ जेठ । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सहकारी ठगी प्रकरणमा आफूहरुले दोषी नउम्कियोस् र निर्दोष नफसोस् भन्ने चाहेको बताए । आज (शनिबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सहकारी ठगी प्रकरणमा संलग्न जोसुकै पनि छानविनको दायरामा आउनुपर्ने बताए । उनले वर्तमान गृहमन्त्री रवि लामिछाने संलग्न रहेको गोर्खा मिडियामा सहकारीको अर्बौं रकम अपचलन भएको बताउँदै त्यसमा संलग्न जोसुकैलाई पनि कारबाही गरिनुपर्ने बताए ।
‘जसले बद्मासी गरेको छ, त्यो व्यक्ति नउम्कियोस, जो निर्दोष छ, त्यो नफसोस् भन्ने हाम्रो चाहना छ । हामी पूर्वाग्रही दृष्टिकोणले यसलाई फसाउनै पर्छ, यसलाई बचाउनै पर्छ भनेर कोही पनि प्रस्तुत हुँदैनौं । सहकारी ठगी सम्बन्धमा वर्तमान गृहमन्त्रीको नाम मुछिएको छ भनेर विभिन्न ठाउँबाट सूचना आएका छन् । प्रमाणहरु पनि पाइएको छ । गोर्खा मिडिया नेटवर्कका अर्बौं पैसा कानुनलाई अपचलन गर्ने काम भयो । यसमा जो–जो संलग्न छन्, कानुनको दायरामा ल्याउनुपर्छ । जसले ठगी गरेको छ, ठगलाई जनताको बीचमा ल्याएर जनताको सम्पत्ति जनतालाई नै फिर्ता गर्ने वातावरण बनाउन पर्छ । छानविन समितिले जस्ताको तस्तै रिपोर्ट दिन्छ भन्ने हामीले विश्वास लिएका छन्,’– उनले भने ।
साथै, सोही प्रकरणमा गृहमन्त्री लामिछानेले अशोभनीय प्रस्तुती दिएको उनको भनाइ छ । उनले गृहमन्त्री लामिछानेलाई ‘बदनाम मान्छे’ को संज्ञा दिए । ‘संसद्माबोलेको हिसाब गर्दाखेरी एउटा बद्नाम मान्छे पनि त्यसरी प्रस्तुत होला जस्तो हामीलाई लागेको थिएन । केही व्यक्तिहरुको अभिव्यक्ति सुन्दाखेरी हामीलाई त्यस्तो लाग्यो,’– उनले भने ।
साथै, गिरीबन्धु टि स्टेट प्रकरणमा तत्कालीन सरकारको क्याविनेटमा रहेका मन्त्रीले नै भ्रष्टाचार भएको भनिसकेको उनको भनाइ छ । तत्कालीन मन्त्री चक्रपाणि खनालले दिएको अभिव्यक्तितर्फ लक्षित गर्दै उनले सर्वोच्चको फैसला कार्यान्वयन गरेर दोषीलाई कारबाहीको दायरामा ल्याइनुपर्ने बताए ।
यो पनि पढ्नुहोस्ः तत्कालीन भूमिमन्त्रीको खुलासाः गिरीबन्धु प्रकरणमा ओलीले अनेक चलखेल गर्नुभएको छ (भिडिओसहित)
‘गिरीबन्धु टि स्टेटको बारेमा तत्कालीन प्रधानमन्त्री को हुनुहुन्थ्यो मैले विर्सिएँ । हिजोअस्ती एक जना नेकपा (माओवादी केन्द्र) बाट मन्त्री हुनुभएको खनालजी हुनुहुन्थ्यो । उहाँ पहिला प्रधानमन्त्रीको सल्लाहकार पनि हुनुहुन्थ्यो । उहाँले एउटा अभिव्यक्ति दिएको तपाईँकै मिडियामार्फत सुने मैले । मलाई हटाएर त्यही कामको लागि अर्को मन्त्री नियुक्ति गरिएको हो । मलाई नै गर्नु भनेको थियो, मैले मानिँन । भनेर उहाँले भन्नुभएको छ ।’ उनले भने, ‘यो हेर्दाखेरी पनि त्यतिखेर सरकारमा बस्नेहरु आफूलाई फाइदा हुने, समग्र मुलुकलाई घाटा हुने प्रकारले यो काम गरेको देखिन्छ । सर्वोच्चले नै यो नीतिगत भ्रष्टाचार हो भनेपछि त्यो फैसला कार्यान्वयनको चरणमा जानुपर्छ । को दोषी छ ? म त्यहाँ जान चाहन्न । जोसुकै दोषी होस्, त्यसले कारबाही भोग्नुपर्छ । कसैलाई गाली गरेर उम्किन पाइँदैन ।’
देशको राष्ट्रिय राजनीतिमा च्याँखे पार्टीहरु हाबी हुनथालेको उनको भनाइ छ । उनले आफूले भनेको नभएदेखि घुर्की लगाउने, धम्काउने र तर्साउने काम भइरहेको बताए । यस प्रकारको पद्धतिको विकासले राजनीतिक स्थायित्व नहुने बताए । उनले भने, ‘ठूला दलले जनताका बीचमा गएर काम गर्नुपर्ने, स्थिरता दिनुपर्नेमा च्याँखेहरु हाबी हुनथाले । च्याँखे पार्टीहरु हाबी हुनथाले । नभएदेखि म छोड्दिन्छु, घुर्की लगाउने, तर्साउने र खाने । अरुलाई देख्लास्, पख्लास् भन्ने आफू त्यो भन्दा बढी बद्मासी गर्ने पद्धतिको विकास हुनथाल्यो । यसले राजनीति स्थिरताको बाटोमा जाँदैन । प्रतिशोधको राजनीति गर्ने, आफूलाई रिस उठेका मान्छेलाई सकिहाल्नुपर्ने । यो पद्धतिले देश बन्दैन ।’ File Photo/RN