Logo

एमालेसँगको सिँगौरी बालेनलाई महँगो सावित हुन्छः सूर्य थापा



काठमाडौं, २६ जेठ । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य सूर्य थापाले काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहलाई एमालेसँगको सिँगौरी महँगो पर्ने बताएका छन् । आज (शनिबार) नेपाली रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले एमालेको नेतृत्वमाथि लान्छना लगाउने कोशिस निकै महँगो पर्ने बताएका हुन् । उनले बालेनलाई आफ्नो मर्यादामा बस्नसमेत भने ।

‘एमालेसँग सिँगौरी खेल्दा तथ्य प्रमाणविना, एमालेको नेतृत्वमाथि लान्छना लगाउने कोशिस उनको निम्ति धेरै महँगो सावित हुन्छ । उनी आफ्नो मर्यादामा बस्नुपर्छ,’– उनले भने ।

काठमाडौं महानगरपालिका प्रमुख शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धु टि स्टेटमा १० हजार करोड भ्रष्टाचार गरेको आरोप लगाएका थिए । बालेनको उक्त आरोपलाई एमालेका नेताहरुले निरन्तर रुपमा खण्डण गर्दै आएका छन् ।

एमाले नेता थापाले यस विषयमा पार्टी अध्यक्ष ओलीले कुनै टिप्पणी नगरेको बताए । गिरीबन्धु प्रकरणमा बालेनले सीमा नाघेर बोलेको उनको दाबी छ । उनले भने, ‘अध्यक्ष केपी ओलीले धेरै टिप्पणी गर्नु भएको छैन । यो सन्दर्भमा बालेनले सीमा नाघेको देख्छु । उहाँ काठमाडौंको मेयर हो कि पुलिस अड्डाको हवल्दार हो ? उहाँले कुनै विषयमा बोल्नका निम्ति तथ्य, प्रमाण चाहिन्छ कि चाहिँदैन ? क–कसले उहाँलाई दुरुपयोग गरेका छन् ?’

पछिल्ला टिप्पणीहरुले बालेनलाई मेयरको मर्यादाबाट नाश गरिरहेको उनको भनाइ छ । उनले तथ्य र प्रमाणविना एमाले र एमालेको नेतृत्वसँग होक्काँ नगर्न (नडुक्रिन) आग्रह गरे । ‘अब मेयर हो भने मेयरको मर्यादामा बस्नुपर्यो । अनुसन्धानमा खटिएको पुलिस अड्डाको जिम्मेवारीको मान्छे हो भने म मेयर होईन भनेर अनुसन्धानमा जुट्नुपर्यो । त्यो दायरामा बस्न पर्यो । सार्वजनिक रुपमा बालेनका टिप्पणी जसरी आइरहेका छन् । उनले आफूलाई मेयरको मर्यादाबाट नाश गरिरहेका छन् । नाश नहुँन भन्ने मैले चाहन्छु ।’ उनले भने, ‘बालेन शाहजीलाई मेरो सुझाव छ । तथ्य, प्रमाणविहीन होक्काँ गर्नु उचित होईन । बालेन शाहजीले यो कुरामा ध्यान दिनुपर्छ । बालेन शाहकै छेउमा उनले भन्दा बढी भेट पाएर निर्वाचित नेकपा (एमाले) की उपमेयर सँगै हुनुहुन्छ भन्ने हेक्का राख्नुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्