Logo

संसद् विघटन नगरेको भए आज एमाले भन्न पाउँदैन थियौंः केपी ओली



काठमाडौं, २६ जेठ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी नै नरहने अवस्था आएपछि प्रतिनिधि सभा विघटन गर्नुपरेको बताएा छन् । आज (शनिबार) एमाले काठमाडौं जिल्ला कमिटीको सातौं अधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले पार्टी दक्षिणपन्थीहरुको पाउमा बुझाउन खोजिएको बताएका हुन् ।

‘त्यतिबेला प्रतिनिधि सभा विघटन नगरेको भए आज नेकपा (एमाले) भन्न पाउँदैन थियौं हामीले । यो अन्तै लगेर बुझाइसेको हुन्थ्यो । दक्षीणपन्थीहरुको पाउमा जसरी सरकार बुझाइयो, एमाले पनि बुझाइसक्या हुन्थ्यो,’– अध्यक्ष ओलीले भने ।

तत्कालीन समयमा आफूले ९औं महाधिवेशनबाट अध्यक्ष भएर पार्टीलाई भण्डै दुईतिहाईको मजबुद शक्तिको रुपमा स्थापित गराउन खोजेको उनले स्मरण गरे । त्यतिगर्दा पनि आफूलाई साधरण सदस्यसमेत नरहने गरी निस्काशन गरेको उनले बताए । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालतर्फ लक्षित गर्दै उनले त्यस्ता प्रकारका तत्वहरुलाई एमालेले पराजीत गरिसहेको बताए । अहिले अहिले एउटै नीति, विचार, गन्तव्य र लयमा रहेको उनले दाबी छ ।

‘९औं महाधिवेशनबाट निर्वाचित भएको अध्यक्ष, जसले पार्टीलाई प्रमुख हैसियतमा मात्रै होईन, मजबुद हैसियतमा पुर्याएको छ, सबैभन्दा ठूलो पार्टी बनाएको छ, जसले देशभरीको पार्टीहरुलाई मिलाएर भण्डै दुईतिहाईको मजबुद शक्ति बनाएको छ, उसैलाई साधरण सदस्यबाट समेत निकालेको देख्नुभएन ?’ प्रश्न गर्दै उनले भने, ‘यस्तो तमासा दुनियाँमा कहीँ हुन्छ ? पार्टीमा विकृति, विसंगतिहरु थिए । तिनलाई हामीले पराजीत गरेका छौं । पार्टी तोड्ने प्रवृत्तिहरु थिए । तिनलाई पराजीत गरेका छन् । पार्टीलाई विस्तापित गर्ने पार्टीको विपक्षमा बोल्ने आदत बनेको थियो केही नेताहरुको । तिनलाई हामीले विस्तापित गरेका छौं । हटाएका छौं ।’



प्रतिक्रिया दिनुहोस्