Logo

माधवका भाञ्जाले आफैँलाई संयोजक घोषणा गरेपछि एसनिकट युवा संघमा भाँडभैलो, काउन्टरमा उत्रियो खनाल पक्ष



काठमाडौं,२७ जेठ । नेकपा एमालेबाट टुक्रिएर नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेका अध्यक्ष माधवकुमार नेपाललाई पार्टी विभाजनको औचित्य पुष्टि गर्न हम्मेहम्मे परेकोबेला पार्टी निकटको भातृ संगठन राष्ट्रिय युवा संघ भने महाधिवेशनको मुखैमा फुटेको छ ।

एकीकृत समाजवादीले आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंमा अधिवेशन गर्दैछ । अधिवेशनको मुखैमा युवा संघ भने तीव्र विवादको भूमरीमा फसेको छ । युवा संघका सहसंयोजक रहेका नितेश पौडेलले शनिबार आफू पक्षिय नेता कार्यकर्ताको भेला डाकेर आफैंलाई संयोजक घोषणा गरेपछि थप विवाद उत्पन्न भएको हो ।

समानान्तर कमिटीमा पौडेल आफै संयोजक तोकिएका छन् भने सचिवमा फुर्वा तामाङ चयन भएका छन्। नितेश एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका भाञ्जा हुन् ।

आगामी असोज पहिलो साता महाधिवेशन गर्ने गरी आयोजक कमिटी गठन गरिएको पौडेल पक्षको भनाई छ । युवा संघका तत्कालीन अध्यक्ष नरेश शाही सुदूरपश्चिम प्रदेश सभामा सांसद चुनिएपछि गत भदौंमा एसले कृष्ण विकलाई संयोजक र नितेशलाई सहसंयोजक तोकेको थियो । विक एसका सम्मानीत नेता झलनाथ खनाल निकट मानिन्छन् ।

विवाद चर्किंदै जाँदा समानान्तर कमिटी र कारबाहीसम्म पुगेको छ । युवा संघको संस्थापन पक्षले शनिबार भेला आयोजना गर्नेहरुलाई कारबाही गरेको छ । संयोजक विकको अध्यक्षतामा शनिबार बसेको आकस्मिक कार्यालय बैठकले सहसंयोजक पौडेलसहित कार्यालय सदस्य रोशन थापालाई कारबाही गरेको हो ।

प्रेम प्रधान, फुर्वा लामा, प्रेमा लामालगायतलाई तीन दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिइएको छ । तर, पौडेल पक्षले भने विकले संगठननै कब्जा गर्न खाजेको, संगठनलाई समय नदिएको लगायतका आरोप लगाउँदै लामो समयदेखि समानान्तर अभ्यास गर्दै आएका छन् । पार्टीको नेतृत्वमा रहेका व्यक्तिको आर्शिवादकै कारण पौडेलपक्ष असंवैधानिक काम गर्न तम्सिरहेको खनालपक्षको बुझाई छ ।

त्यसोत एकीकृत समाजवादीको आगामी महाधिवेशनमा पार्टी अध्यक्षका लागि नेपालसँगै खनालले पनि आकांक्षा राखेका छन् । अहिलेको अवस्थामा नेपालभन्दा खनालपक्ष बलियो रहेको नेताहरुले बताएका छन् । नेपाललाई नेतृत्वबाट विस्थापित गर्ने खनालपक्षको योजनालाई युवासंघमा पौडेलले काउन्टर दिएको हुनसक्ने खनाल पक्षीय नेताहरुले आंकलन गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्