Logo

कोशी सरकार गठनविरुद्धको रिट ‘हेर्न नमिल्ने’ मा



काठमाडौं,२७ जेठ । कोशी प्रदेश सरकार विवादबारे सुनुवाइका लागि पूर्ण इजलासमा पेशी तोकिएको मुद्दा हेर्न नमिल्नेमा परेको छ ।आज उक्त रिटको सुनुवाइ सर्वोच्चका न्यायाधीशत्रय प्रकाशकुमार ढुंगाना, अव्दुल अजीज मुसलमान र सुनिल कुमार पोखरेलको पूर्ण इजलासमा पेशी तोकिएको थियो । मुख्यमन्त्री हिक्मत कार्की पक्षका कानुन व्यवसायीले प्रश्न उठाएपछि आजको पेशी हेर्न नमिल्नेमा राखिएको हो ।

पूर्ण इजलासका न्यायाधीश पोखरेल एक वर्ष अगाडि कानुन व्यवसायीको हैसियतमा मुख्यमन्त्री कार्कीको विपक्षमा बहस पैरवी गरेको भन्दै प्रश्न उठेपछि उक्त मुद्दा हेर्न नमिल्नेमा परेको हो । यसअघि गत २३ गते न्यायाधीशद्वय तीलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासले पूर्ण इजालासमा सुनुवाइका लागि पठाउन आदेश दिएको थियो ।

वैशाख २६ गते प्रदेश प्रमुख परशुराम खापुङ्गले नयाँ सरकार गठनको आव्हान गरेपछि उनी सर्वोच्च अदालत गएका थिए ।एमाले संसदीय दलका नेता हिक्मतबहादुर कार्कीलाई प्रदेश प्रमुख परशुराम खापुङले वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त गरेका थिए। उनले माओवादीलगायत सत्ता गठबन्धनका ५२ जना सांसदको समर्थन प्राप्त गरेका थिए। उनले प्रदेशसभाबाट विश्वासको मत पनि लिइसकेका छन्।



प्रतिक्रिया दिनुहोस्