काठमाडौं,२७ जेठ । सरकार गठनको झण्डै २ महिनापछि सुदूरपश्चिम प्रदेश सरकारले पूर्णता पाउने भएको छ । मधेश प्रदेश सरकारमा नेकपा एकीकृत समाजवादी सहभागी भएको र कोशीमा पनि सहभागी हुने तयारी गरेपछि सुदूर सरकारले पूर्णता पाउने भएको छ ।
गत वैशाख ६ गते मुख्यमन्त्री नियुक्त भएका दीर्घ सोडारीले शीर्ष दलबीच कुरा नमिल्दा सरकारलाई पूर्णता दिन सकेका थिएनन् । अब भने आइतबार वा सोमबार भित्रमै सरकारले पूर्णता पाउने भएको छ ।
यसैबीच सुदूर सरकारमा २ मन्त्रीसहित सहभागी हुँदै गरेको माओवादी केन्द्रले मन्त्रीमा पठाउनेको नाम टुंग्याएको छ । अक्कल रावल र ओमविक्रम भाटलाई माओवादीले सरकारमा पठाउने भएको छ । प्रदेशमा माओवादीले पर्यटन, उद्योग तथा वन र सामाजिक विकास मन्त्रालय पाउने छ ।
यता नेकपा एमालेले पनि सरकारमा जाने संकेत गरेको छ । एमाले प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावल काठमाडौं आएका छन् । शीर्ष नेताहरुसँग छलफल गर्न भन्दै उनी काठमाडौं आएका हुन् । एमालेले पनि सरकारमा जाने मनस्थिति बनाएको स्रोतले जनाएको छ ।
एमालेनिकट स्रोतका अनुसार एमालेले मन्त्री हुनेको नाम आजै मुख्यमन्त्रलाई बुझाउने तयारी गरेको छ । एमालेले अर्थ । आन्तरिक मामिला, कानून तथा गृह मन्त्रालय पाउनेछ । एमालेबाट प्रमुख सचेतक रहेका सुरेन्द्रबहादुर पाल र वीरबहादुर थापाको नाम चर्चामा छ । त्यसोत वैशाख १५ गते भएको उपनिर्वाचनमा बझाङबाट निर्वाचित दमनबहादुर भण्डारीको नाम पनि चर्चामा छ । यद्यपी भण्डारीलाई राज्यमन्त्री बनाएर पाल र थापालाई मन्त्री बनाउन सक्ने स्रोतको भनाइ छ ।
हाल मुख्यमन्त्री सोडारी नेतृत्वको मन्त्रिमण्डलमा नागरिक उन्मुक्ति पार्टीका दुईजना मन्त्री छन् । नाउपाका तर्फबाट कैलाश चौधरी र टीका थापा मन्त्री छन् । चौधरीले भौतिक तथा थापाले कृषि मन्त्रालयको जिम्मोरी सम्हालिरहेका छन् ।